सरकारले घटायो पिसीआर परीक्षणको शुल्क, अब दुई हजार रुपैयाँ मात्र

सरकारले घटायो पिसीआर परीक्षणको शुल्क, अब दुई हजार रुपैयाँ मात्र


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु. दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु. दुई हजार तोकिएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार अब सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । प्रवक्ता गौतमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको जनाएका छन् । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनको भनाइ छ ।

यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि ४ हजार ४०० रुपैयाँ तोकेको थियो । अझ त्यस भन्दा पनि अघि पिसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो ।

नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ ।