वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।
यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।
यस्तै, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए ।
भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनुभयो ।
चितवनमा वृद्धाको मृत्यु
चितवन मेडिकल कलेजमा पनि उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्तापूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
प्रतिक्रिया