शुरु भयो दशैँ-खर्चको चिन्ता : न पसलमा पर्याप्त सामान न बजारमा ग्राहक !

शुरु भयो दशैँ-खर्चको चिन्ता : न पसलमा पर्याप्त सामान न बजारमा ग्राहक !


विकास रौनियार, धादिङ

नेपालीको ठूलो चाड बडादशैँ आउन अब लगभग एक महिना मात्रै बाँकी छ । गत वर्ष यतिबेला दशैँको किनमेलका लागि बाक्लो चहलपहल हुने धादिङका बजारहरू सुनसान देखिन्छन् । सबैभन्दा व्यस्त रहने सदरमुकाम धादिङबेसी बजार क्षेत्रमा अझै चहलपहल नहुँदा व्यापारी निराश देखिएका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन धादिङले गत श्रावण २८ गते देखि लगाएको निषेधाज्ञा यही भदौ २४ गतेदेखि केही खुकुलो भएसँगै व्यापार–व्यवसाय सहज रूपमा खुल्न थालेका छन् ।

व्यापारका लागि जिल्ला प्रशासनले पसल खोल्ने समय बिहान ७ देखि बेलुका ५ बजे सम्म तोके पनि कतिपय व्यवसायीले भने यसको पालना गरेका छैनन् ।

सधैँ भीडभाड र व्यस्त रहने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी र गजुरी बजार क्षेत्रमा समेत व्यापारिक चहलपहल बढेको छैन ।

अघिल्ला वर्षमा यतिखेर बडादशैँका लागि सामान किन्न यहाँ भीडभाड भइसक्थ्यो । तर, एकातिर काठमाडौं बाट बेच्ने समान ल्याउन नपाउँदा सामान सकेको पसलमा देखिन्छ र अर्कोतिर ग्राहक नआएर भएका सामान पनि बिक्री गर्न नपाएको व्यवसायीको गुनासो छ । कतिपय व्यवसायी सरकारले दशैँको मुखमा कर उठाउनका लागि मात्र निषेधाज्ञा खुकुलो गरेको तर्क गर्छन् ।

कोरोना संक्रमणको त्रासका कारण ग्राहक बजार नआउँदा व्यापारी घरभाडा र कर कसरी तिर्ने भन्ने चिन्तामा छन् । अर्कातिर दशैँका लागि खर्चको जोहो कसरी गर्ने भन्ने पिर पनि उत्तिकै छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारे पनि ग्राहक निश्चिन्त भएर बजार पुग्न सकेका छैनन् । त्यसैले पनि व्यवसायी दशैँका लागि खर्च कसरी जुटाउने भन्ने चिन्तामा छन् ।