नेपाली सेनाका सकल दर्जामा ह्वात्तै बढ्यो कोभिड-१९ सङ्क्रमितको सङ्ख्या

नेपाली सेनाका सकल दर्जामा ह्वात्तै बढ्यो कोभिड-१९ सङ्क्रमितको सङ्ख्या


संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज (२९ भदाौ) त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ ।

शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई सङ्क्रमण पुष्टि भएको जनाइएको छ । राष्ट्र सङ्घको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गए राति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसतर्फ जाने जवानमा आइतबार अचानक कोरोना पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको जनाइएको छ । सन् २०१६ देखि लिबियामा नेपाली शान्ति सैनिक रहन लागेका हुन् जहाँ हाल २२९ नेपाली सैनिक तैनाथ छन् ।

सङ्क्रमण देखिएका व्यक्तिको कन्टयाक टे«सिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

वैशाखमा नै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो । ती सैनिकमा परीक्षणपूर्व कुनै लक्षण नेखिएकाले आफैंमा ठूलो अनुसन्धानको विषय बनेको छ ।

यसअघि अहिलेकै प्रक्रिया अपनाएर क्वारेन्टिनमा बसी द्वन्द्वग्रस्त मुलुक माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक र दक्षिण सुडानमा तैनाथ हुन गएका नेपाली शान्ति सेनामा भने कुनै सङ्क्रमण पुष्टि भएको थिएन । यसैबीच पछिल्लो समय नेपाली सेनाका सकल दर्जामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

यही भदौ १७ गतेसम्म ५०८ जनामा मात्र पोजेटिभ पुष्टि भएकामा २८ गतेसम्म सो सङ्ख्या बढेर एक हजार ३८३ पुगेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ बाट सङ्क्रमित सैनिकमध्ये हालसम्म २९४ जना निको भएर घर फर्किसकेका छन् भने एक हजार ८९ जना कोरोनाका सक्रिय बिरामी हुन् ।