मल ल्याउन नसक्ने शैलुङ र होनिकोलाई कालोसूचिमा राख्न सिफारिस

मल ल्याउन नसक्ने शैलुङ र होनिकोलाई कालोसूचिमा राख्न सिफारिस


सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई सोमबार (२९ भदौ) पत्र पठाउँदै शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेट र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष ०७६–७७ का लागि आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार २५–२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । ठेक्का सम्झौताअनुसार मल नल्याएपछि कृषि सामग्री कम्पनीले यसअघि दुवै कम्पनीको जमानत रकम जफत गर्दै कारवाहीसमेत गरेको छ ।

कम्पनीले कारवाही गरेर थप कारवाहीस्वरुप कालोसूचिमा राख्न सिफारिस गरिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी बताउँछन् । ‘हामीले सम्झौता भएका सबै कागजपत्रसहित सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका हौँ, कार्यालयले काजगपत्र हेरेर थप निर्णय गर्नेछ’, उनले भने ।

शैलुङसँग यसअघि नै ठेक्का सम्झौता भएको ठेक्का यथावत रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३० हजार र २५ हजार गरी ५५ हजार मेट्रिक टन रसायनिक मलको ठेक्का सम्झौता भइसकेको छ ।