नेपालमा कोभिड-१९ बाट कुल संक्रमित संख्या ५६,७८८

नेपालमा कोभिड-१९ बाट कुल संक्रमित संख्या ५६,७८८


पछिल्लो २४ घण्टामा नेपालमा १,४५९ जना कोरोना भाइरसबााट संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार (३० भदौ) थपिएको संख्यासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६,७८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन्।

मन्त्रालयले मंगलबार १०६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ४०,६३८ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०,३७५ जनाको पीसीआर परीक्षण गरिएको छ भने हाल देशभर १५,७७९ जना सक्रिय संक्रमित रहेका छन् भने ७,२५० जना क्वारेन्टिनमा छन् ।

नेपालभर मृतक संख्या ३७१

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् ।

सर्लाहीका ६४ वर्षीय पुरुष, सिरहाकी ३५ वर्षीया महिला, बाराका ५५–५५ वर्षका एक महिला र एक पुरुष, काठमाडौंका ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीकी ६४ वर्षीया महिला र कपिलवस्तुका ५८ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ।