शेरबहादुर र शेखरलाई परिवारभित्रैबाट चुनौती !

शेरबहादुर र शेखरलाई परिवारभित्रैबाट चुनौती !


नेपाली काङ्ग्रेसभित्र यतिबेला सबैभन्दा शक्तिशाली नेताका रूपमा डा. शेखर कोइराला र शेरबहादुर देउवाको नाम लिइन्छ र, यसमा धेरै हदसम्म सत्यता पनि छ । तर दुवै शक्तिशाली नेताहरू आफ्नै सर्वाधिक निकटस्थ मानिएका मानिसको चुनौतीका कारण ठूलो सकसमा परेका छन् ।

सभापति शेरबहादुर देउवाले हात समातेर माथि उचाल्दै उपसभापतिसम्म बनाइदिएका विमलेन्द्र निधि देउवा स्वयम्का निम्ति ‘राहु’ बनेका छन् भने डा. शेखर कोइरालाचाहिँ आफ्ना भाइ, बीपी पुत्र डा. शशाङ्क कोइरालाका कारण अप्ठयारोमा परेका छन् । यदि कोइराला क्याम्पबाट शशाङ्क उम्मेदवार नबन्ने हो भने शेखरबाट देउवाको पराजय निश्चित मानिन्थ्यो । तथापि, रामचन्द्र पौडेललगायतका नेताहरू बक्री भएको अवस्थामा डा. शेखरले देउवामाथि विजय प्राप्त गर्न अलिक सङ्घर्ष गर्नुपर्ने स्थितिचाहिँ देखिन्छ ।

काङ्ग्रेसभित्र उत्पन्न भएका गुटहरूमध्ये सबभन्दा शक्तिशाली गुट देउवाको मानिन्छ र निधिले चुनौती दिनुअघि देउवा आफ्नो गुटका एकछत्र नेता मानिन्थे । कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला डा. रामशरण महत, रामचन्द्र पौडेल र अर्जुन नरसिंह केसीका पनि आ–आफ्नै गुट छन् । डा. शेखरलाई सभापति स्विकार गर्न कोइराला पक्षकै केही नेताहरूले आनाकानी गरिरहेका छन् । खासगरी रामचन्द्र पौडेल र शशाङ्क कोइराला शेखरलाई सभापतिको उम्मेदवार बनाउने पक्षमा अहिलेसम्म छैनन् । कदाचित शेखरसँग उनीहरूको अविश्वास र दूरी बढ्दै गयो भने दुवैले देउवासँग सम्झौता गर्न सक्ने सम्भावना छ ।

शेखरलाई कोइराला क्याम्पबाट एकल उम्मेदवार बनाइएछ भने पनि उनलाई ‘अन्तर्घात’ हुन सक्ने देखिन्छ । शेखर एकपटक सभापति बन्न सफल भएमा केही वर्षका लागि काङ्ग्रेस शेखरको हातमा जाने र, त्यसपछि देउवाको पक्षमा मात्र नभई कोइराला पक्षका नेताहरूको समेत ‘राजनीति’ सदाका निम्ति सकिने त्रास कोइराला क्याम्पका नेताहरूसँग पैदा भएको छ । शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्न विमलेन्द्र निधि अग्रसर भएकोले दुई नम्बर प्रदेशका गैह्रयादव मत निधिले काट्न सक्ने र त्यसको सिधा असर देउवालाई पर्न सक्ने देखिन्छ ।

अहिले देखिएको परिस्थिति चौधौँ महाधिवेशनसम्म कायम रहेमा पहिलो चरणको निर्वाचनबाट कोही पनि निर्वाचित हुन नसक्ने र दोस्रो चरणमा शेखर र देउवाबीच कडा मुकाविला हुनसक्ने छ ।

आफ्नो विजय निश्चित नदेखिएमा शेरबहादुर देउवाले डा. शशाङ्क कोइरालालाई सभापतिमा समर्थन गर्ने र आफ्नी पत्नी आरजुलाई शशाङ्कको टिमबाट उपसभापति या महामन्त्री पदको उम्मेदवार बनाउने सम्भावना पनि रहेको छ । निधिले पनि देउवाको कमजोरी र ‘अन्तिम’ इच्छा बुझेर नै काङ्ग्रेसको नीति तथा प्रशिक्षण विभागको प्रमुख बनाएर आरजुलाई राखेका छन् । आरजुलाई नीति तथा प्रशिक्षण प्रमुख बनाउन शेरबहादुरले सिफारिश गरेका थिएनन् । आफूलाई सभापतिको उम्मेदवार बनाइएमा आरजुलाई उपसभापति या महामन्त्रीको उम्मेदवार बनाइने सोच निधिले बनाएका हुन् । तर देउवा त्यति कमजोर खेलाडी होइनन्, आफू किनारा लाग्ने र पत्निलाई आफ्नो उत्तराधिकारीका रूपमा अघि सार्नुपर्ने अवस्थामा देउवा हार्ने खेलमा सामेल हुने छैनन् । र, निधिलाई अगाडि राखेर जाँदा कुनै हातलमा पनि जित्न सकिँदैन भन्ने देउवालाई थाहा छ । त्यसैले आफू बाहिरिने स्थिति आएमा देउवाको गठबन्धन कोइराला पक्षसँग नै हुन सक्ने र त्यसमा पनि सबभन्दा बढी सम्भावना शशाङ्कसँग नै हुन सक्ने देखिन्छ ।

नेपाली काङ्ग्रेसमा सभापति बन्ने योग्यता र हैसियत बनाइसकेका नेताहरूमा प्रकाशमान सिंह, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ र रामचन्द्र पौडेललाई लिइन्छ । यी नेताहरूको साथ कसलाई रहन्छ भन्ने कुराले पनि परिणाममा अन्तर ल्याउन सक्दछ । त्यसैगरी उपसभापति या महामन्त्रीको जिम्मेवारीका निम्ति योग्यता र हैसियत पुगेका नेताहरूको सङ्ख्या पनि सानो देखिँदैन । महामन्त्री पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, लक्ष्मणप्रसाद घिमिरे, बालकृष्ण खाणलाई भावी उपसभापति र महामन्त्रीका रूपमा हेर्न थालिएको छ ।

त्यस्तै, एनपी साउद, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, चित्रलेखा यादव, पद्मनारायण चौधरी, फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, डा. मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, शङ्कर भण्डारी, आनन्द ढुङ्गाना, डा. अमरेश कुमार सिंहलगायतका नेताहरूको नाम सम्भावित सह–महामन्त्रीको रूपमा लिन थालिएको छ । त्यस्तै भावी कोषाध्यक्षका रूपमा ख्यातिप्राप्त उद्यमी विनोद चौधरीको एकल नाम चर्चामा आउन थालेको छ । उल्लिखित सबै नेताहरूलाई चुनौती दिँदै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको पनि बुझिएको छ ।