नेपालमा बुधबार थपिए १,५३९ जना संक्रमित, कुल संख्या ५८,३२७ पुग्यो

नेपालमा बुधबार थपिए १,५३९ जना संक्रमित, कुल संख्या ५८,३२७ पुग्यो


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ । बुधबार (३१ भदौ) थप १,५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित संख्या अन्ठाउन्न हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएअनुसार बुधबार १०६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्हा भने लसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०० पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ पुरुष र ४ महिलाको मृत्यु भएको हो ।

सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष, काभ्रेका ४१ वर्षीय पुरुष तथा कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी बाराकी ४६ वर्षीय महिला, काभ्रेकी ५५ वर्षीय महिला, काठमाडौँका ७१ र ७४ वर्षीय महिलाको मृत्यु भएको हो।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

यसैबीच काभ्रे जिल्लाका एक कोरोना संक्रमितको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । पनौती नगरपालिकाका ४१ वर्षका ती व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा यही भदौ २८ गते स्वाब संकलन गरिएको थियो, उनी २७ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए ।

उता निषेधाज्ञा हटाएलगत्तै सप्तरी जिल्लामा ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सङ्क्रमित थप भएकामा राजविराज नगरपालिकाको विभिन्न वडाका ४४ र हनुमाननगर कङ्कालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र महादेवा गाउँपालिकाका ६ जना सङ्क्रमित छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले सोमबार मध्य रातिदेखि निषेधाज्ञा हटाएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार सो अस्पतालमा डायलासिस सेवा लिइरहेकी मिृर्गौला पीडित एक महिला, आकस्मिक सेवामा उपचाररत तीन बिरामी तथा राजविराजस्थित आइसोलेसन केन्द्रमा कार्यरत दुई सरसफाइ कर्मचारीसमेत सङ्क्रमित भएका बताइएको छ ।

यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, एक प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालको डायलासिस युनिटमा नियमित उपचार गराइरहेका मिृर्गौला पीडितमध्ये मङ्गलबार एक महिला र सोमबार ६ पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि मङ्गलबार बन्द गरिएको डायलासिस सेवा निर्मलीकरण गरेर आजबाट सेवा सुचारु गरिएको अस्पतालले जनाउको छ ।

योसमेत सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमतिमध्ये मृत्यु हुनेको सङ्ख्या एक महिलासहित नौ पुगेकोछ ।