राष्ट्रसङ्घको ७५औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल ‘अप्रत्यक्ष रूपमा’ सहभागी हुँदै

राष्ट्रसङ्घको ७५औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल ‘अप्रत्यक्ष रूपमा’ सहभागी हुँदै


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभामा अप्रत्यक्ष रूपमा भाग लिने भएको छ । न्युयोर्कमा आज (२ असोज) देखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् ।

यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ : प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्नुहुनेछ भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई यही असोज १६ गते तथा अल्पविकसित राष्ट्र र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परम्परागत रुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को बैठक अप्रत्यक्ष रुपमा नेपालले यही असोज ८ गते आयोजना गर्दैछ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाडौंबाट सहभागी हुनुहुनेछ भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त नियोगका अधिकारी अनुकूलताअनुसार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा महासभामा सहभागी हुनुहुनेछ ।रासस