पोखराको खपौँदीमा खुल्यो किसान बजार

पोखराको खपौँदीमा खुल्यो किसान बजार


पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ ।

कृषकहरूले उत्पादन गरेका उपभोग्य वस्तुहरू सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसंगको साझेदारीमा बजार सञ्चालनमा आएको हो ।

महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गर्दै कृषि क्षेत्र सशक्त पेशा र महत्वपूर्ण व्यवसाय भएको चर्चा गरे ।

उपभोक्ताको मागअनुसारका कृषिउपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै उनले भने– ‘स्थानीय तथा अर्गानिक उत्पादनप्रति जसरी उपभोक्ताहरुको चासो बढेको छ, त्यहि रुपमा अहिले कृषि उपज बजारमा आउन सकेको छैन, फेवा किसान बजारले उपभोक्ताको मागअनुसार वस्तुहरुको बिक्री वितरण गर्न सक्नुपर्छ ।’ किसानले उत्पादन गरेको वस्तु कृषकले नै बिक्री गर्न पाउनुपर्ने उनको भनाई छ ।

पोखरामा दैनिक ३ करोड मुल्य बराबरको तरकारी खपत हुने गरेको दृष्टान्त सुनाउँदै मेयर जिसीले करौडौँ रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । ‘यहाँ उत्पादन हुने वस्तु सकेसम्म बाहिरबाट आयात नगर्ने महानगरको नीति हो’, उनले भने ।

पोखराको लेखनाथस्थित तालचोक, विरौटा, काहुँखोला, बाटुलेचौर लगायतका स्थानमा यस किसिमका बजारहरु सञ्चालनमा आइसकेको जानकारी दिँदै उनले कृषक र उपभोक्तालाई सिधा व्यापारमा जोड्ने महानगरको उद्देश्य रहेको बताए । मेयर जिसीले व्यवसायिक कृषकहरुले कृषि विमाको सुविधा प्रयोग गर्नुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरू विचौलियाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको जानकारी दिए । पोखराको वडा नं १८, २३ र २४ का कृषकहरुलाई लक्षित गरी बिक्री केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

उत्पादनले बजार नपाएको भनेर कृषकहरुले सधै गरिरहने गुनासो केहि हदसम्म सम्बोधन हुने कडरियाको विश्वास छ । कृषकले गरेको उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने उनले बताए ।

पोखरा महानगरको लोगो सहितको प्याकेजिङ र ब्रान्डिङ गरी कृषि उपज बिक्री गरिने उनको भनाई छ । कडरियाका अनुसार साना कृषकहरुसँग साझेदारी गरेर पोखराको चिप्लेढुङ्गास्थित श्री कम्पलेक्समा कृषि उपज पुऱ्याउने व्यवस्था महानगरले गर्ने कडरियाले जानकारी दिए ।