दशैँका लागि राष्ट्रबैँकले नयाँ नोट सटही नगर्ने

दशैँका लागि राष्ट्रबैँकले नयाँ नोट सटही नगर्ने


कोरोना महामारीका कारण दशैँ-तिहारजस्ता महान् चाड नै खुलेर मनाउन नपाइने भनी नेपालीजनले खल्लो मानिरहेको बेला राष्ट्रबैंकले एक सूचना जारी गर्दै यस वर्षको दशैँका लागि नयाँ नोट साट्ने व्यवस्था गर्न नसकिने जनाएको छ । केन्द्रिय बैंकको यस सूचनाले आ-आफ्नो घरमा भौतिक दूरी कायम गरेर भए पनि दशैँ मनाउने तयारी गरिरहेका सबैलाई थप निराश बनाएको छ ।

राष्ट्रबैंकले आइतबार जारी गरेको सूचनामा यस वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गर्न नसकिने स्पष्ट पारेको छ । बैँकहरुमा कोरोना संक्रमण बढ्दै गएको र स्वास्थ्य मन्त्रालयले पनि भीडभाड नगर्न भनेकाले यस वर्ष दशैँमा विगतमा जस्तो नोट वितरण गर्न नसकिने राष्ट्रबैँकको तर्क छ ।

‘नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयहरूबाट बडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, राष्ट्रबैँकको सूचनामा भनिएको छ ।