साताको शेयर बजार : नौ अर्ब बढीको कारोबार

साताको शेयर बजार : नौ अर्ब बढीको कारोबार


धितोपत्र बजारका यस साता लगानीकर्ता नाफा कमाउन लागेका कारण नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । कारोबार हुने पाँच दिनमा नेप्से दुई दिन मात्रै उकालो लाग्दा तीन दिन भने ओरालो लाग्यो । लगानीकर्तामा नजिकिँदो चाडवाडले पनि काम गरेको थियो ।

साताभर कूल रु नौ अर्ब आठ करोड ५५ लाख १० हजार ५०० बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार सो अवधिमा कूल १९६ कम्पनीका कूल तीन करोड ३१ लाख ६५ हजार ८१६ कित्ता शेयर कारोबार भए ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो । स्टकका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा पुग्यो । त्यसदिन कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।

साताको दोस्रो दिन नेप्से १.७४ बिन्दुले बढेर एक हजार ५७८.०१ मा पुग्यो । त्यसदिन कुल १८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता शेयर रु एक अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ मा खरिद बिक्री भए ।

मङ्गलबार शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा पुग्यो । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुग्यो । कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर रु एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ मूल्यमा खरिद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेर एक हजार ५६२.४६ मा पुग्यो । कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर रु एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।