अनलाइनल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेशनल कराते अफ ब्राजिलको आयोजनमा ३० र ३१ अक्टोबरमा भएको अनलाइन काता च्याम्पियनसिपमा नेपालले उक्त पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।
नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जितेका हुन् । ब्राउन बेल्टदेखि ब्लाक बेल्टसम्मको प्रतिस्पर्धा गराइएको च्याम्पियनसिपको १३ देखि २१ वर्ष समूहमा निताले २४.७० अंक प्राप्त गर्दै आयोजक ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्दै स्वर्ण कब्जा गरेकी हुन् । क्यारोलिनले २४.५५ अंक प्राप्त गरेकी थिइन् । तेश्रो स्थानमा इन्डोनेसिया र भारतका खेलाडी रहे ।
यस्तै, पुरुषतर्फको सोही स्पर्धामा नेपालका सोनिम मानन्धरले २४.९६ अंकका साथ स्वर्ण हात पारे । उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए । सायकले २४.७३ अंक हात पारेका थिए । तेश्रो स्थानमा क्युवा र ब्राजिलका खेलाडी रहे ।
नीता र सोनिमले वेष्ट अफ दि वेष्टतर्फ पनि कास्य पदक प्राप्त गरे । निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र इन्डोनेसियाले कास्य पाए । यस्तै सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा इन्डोनेसियाले रजत र कास्य जित्यो । नेपालका लागि सञ्जु देसारले रजत हात पारिन् ।
महिला १४ देखि १५ वर्ष उमेर समूहमा देसारले २५.३१ अंक प्राप्त गरेकी थिइन् । प्रथम स्थान हात पारेकी इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अंकका साथ स्वर्ण जितेकी थिईन् । तेश्रो स्थानमा रसिया र ब्राजिलका खेलाडी रहे ।
पुरुष ग्रिनदेखि ब्लाकबेल्ट ८ देखि ९ वर्ष उमेर समूहको प्रतिस्पर्धामा सत्कार घर्ती मगरले ३७.१० अंक प्राप्त गर्दै नेपालका लागि कास्य जोडे । भेनेजुएलाका ग्राबिल इडुआर्डोले ३२.३० अंकका साथ स्वर्ण र इन्डोनेसियाका मोहमद अल तरावीले ३२.१७ अंकका साथ रजत पाए । यस्तै पेरुका आर्तुरो सान्चेजले कास्य पाए ।
महिलाको ह्वाइट, एलो बेल्टको १४–१५ वर्ष समूहमा दीपिका सापकोटाले २३.०१ अंकका साथ कास्य पाइन् । सो स्पर्धामा आयोजक ब्राजिलका खेलाडीहरुले स्वर्ण, रजत र कास्य पाए । यस्तै महिलाकै अरेन्ज, रेड बेल्टमा अनुभा मङ्गर्तीले कास्य पाइन् । उनले २२.७३ अंक हात पारेकी थिइन् । सो स्पर्धामा उज्वेकिस्तानले स्वर्ण तथा ब्राजिलले रजत र कास्य पाए ।
महिला जुनियर १३ देखि २१ वर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले २३.५३ अंकका साथ कास्य हात पारिन् । यस स्पर्धामा पहिलो , दोश्रोका साथै अर्को तेश्रो स्थान ब्राजिलले हात पाऱ्यो । १२ देखि ३१ वर्ष ब्लाक बेल्ट स्पर्धामा भने नेपालका खेलाडी राज कुमार श्रेष्ठ पाँचौ स्थानमा रहे ।
मास्टर्स ३२ देखि ४१ बर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे । उनले २४.१७ अंक प्राप्त गरेका थिए । सो स्पर्धामा स्वर्ण र रजत आयोजक ब्राजिलले हात पाऱ्यो । हेल्दर कोटेस बोनिफासियोले २४.७३ अंक र कृष्टिआनो भानीले २४.३० अंकका साथ स्वर्ण र रजत प्राप्त गरे ।
प्रतिक्रिया