आरतीमाथि छ्यापिएको एसिडको बिक्रेता ५८ बोतल एसिडसहित पक्राउ

आरतीमाथि छ्यापिएको एसिडको बिक्रेता ५८ बोतल एसिडसहित पक्राउ



जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित देवपुरा रुपैठा घर भई जनकपुरधाम-७ स्थित जानकीनगरमा रहेको माइतीघरमा बसिरहेका बेला शनिबार बिहान २६ वर्षीया आरतीमाथि उनकै श्रीमानले एसिड प्रहार गरेका थिए ।

श्रीमानबाट पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना पाएकी आरतीको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएको केही समय पश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको पीडित आरतीको भनाइ छ । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताइन् ।