अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु



अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिएका एएफपीले जनाएको छ । मृतक एवं घाइतेहरु सबै सैनिक रहेको उनले जानकारी दिएका छन् ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको बताए, तर उनले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहेनन् ।

उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।