कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहराइन

कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहराइन



खोप कम्पनीहरुले विवरण गोप्य नै राखे


कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो ।

बहराइनको राज्यद्वारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख गरेको छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिएको थियो ।

देशको राष्ट्रिय स्वास्थ्य नियामक निकायले सबै कुरा अध्ययन गरेर यसलाई आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्विकृति दिएको हो ।

प्रयोगका लागि स्विकृति दिए पनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।

त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।

झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।