प्रतिबन्धित नेकपाका नेता अनिल शर्मा दशौँपटक पक्राउ

प्रतिबन्धित नेकपाका नेता अनिल शर्मा दशौँपटक पक्राउ



नुवाकोटबाट काभ्रे पठाइयो


स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता अनिल शर्मा ‘विरही’ (छविलाल सापकोटा) साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

उनलाई मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट लगिएको थियो । प्रतिबन्धित नेकपाका नेता शर्मा मदानपुरको स्काभेक्टर आगजनीमा संलग्न भएको भरपर्दो प्रमाण नभएको भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो ।

भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।

साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । बताइएअनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ ।

गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौं, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट लगिएको थियो । आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको बिरहीको प्रतिक्रिया छ ।

विप्लव नेतृत्वको नेकपा पछिल्लो समयमा हिंसात्मक र ध्वंशात्मक गतिविधिमा संलग्न हुन थालेको भन्दै राज्य संयन्त्रबाट विभिन्न बहानामा धरकपड, पक्राउ गर्नुका साथै सो पार्टीको राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।