बामदेवको ‘स्थिरता’ देखेर दुवै पक्ष चकित !

बामदेवको ‘स्थिरता’ देखेर दुवै पक्ष चकित !



‘पिपलको पातझैँ हावाको सुर तालमा नाच्ने नेता’का रूपमा चिनिएका बामदेव गौतम यसपटक आफ्नो स्वभाव र चरित्रभन्दा भिन्न शैलीमा प्रस्तुत भएका छन् । गौतमको भूमिकाले प्रधानमन्त्री केपी शर्मा ओली र ‘माओवादी पक्षका अध्यक्ष’ प्रचण्ड दुवैलाई चकित पारेको छ ।

उनी आफूलाई मदन भण्डारीकृत जनताको बहुदलीय जनवाद (जबज)को पक्का हिमायती भएको दाबी गर्छन्, तर ‘जबज’विरुद्धको क्याम्पमा उनी उभिएका छन् । गत वर्ष यसैगरी केपीविरुद्ध उभिएपछि गौतमलाई पार्टी उपाध्यक्षको पद मिलेको थियो र, यसपटक राष्ट्रियसभाको सदस्य पद प्राप्त भएको छ ।

बामदेव गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन हुनुपर्ने माग गर्दै आएका छन् । उनको यस्तो मागमा प्रचण्डले देखावटी समर्थन गरेको भए पनि प्रधानमन्त्री ओली उक्त मागको पक्षमा छैनन् । त्यसरी संविधान संशोधन गर्दा निकै ठूला जटिलता पैदा हुने भनाइ ओलीको रहँदै आएको छ ।

केपी ओलीसँग मिलेर जाँदा बामदेवले पार्टीको तेस्रो अध्यक्ष या राष्ट्रियसभाको अध्यक्ष या उपप्रधानमन्त्रीको हैसियतसहित कुनै मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने सम्भावना देखिन्छ । प्रचण्ड पक्षमा जाँदा पनि उनले प्राप्त गर्ने भनेको उपप्रधानमन्त्री या राष्ट्रियसभाको अध्यक्षसम्म मात्र हो । विचार र अवसर दुवै केपीसँग मिलेर पनि बामदेव प्रचण्ड-पक्षमा उभिनुलाई केपीले आश्चर्यको विषय ठानेका छन् भने बामदेव यसरी अहिलेसम्म आफ्नो पक्षमा खडा हुँदा प्रचण्ड आफैं पनि चकित परेका छन् ।