कोरोना हिरोहरूको कथामा बन्यो ‘सिभिल सोल्जर्स’

कोरोना हिरोहरूको कथामा बन्यो ‘सिभिल सोल्जर्स’



नेपालमा कोरोनाविरुद्वको लडाइँमा अनुकरणीय काम गर्ने व्यक्तिहरूको कथामा आधारित ‘सिभिल सोल्जर्स’ बृत्तचित्र निर्माण गरिएको छ । ‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरूको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ निर्माण गरेका हुन् ।

कोरोनाको कारण भएको बन्दाबन्दी र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरूको कथामा बृत्तचित्र केन्द्रीत रहेको ‘सिभिल सोल्जर्स’को कार्यकारी निर्माता तथा लेखकसमेत रहेका पाण्डेले जानकारी दिए ।

यो वृत्तचित्र फिल्म २५ मङ्सिरदेखि काठमाडौंमा शुरु हुने ‘काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव’ (किम्फ)मा ‘रिलिज’ हुँदैछ । बन्दाबन्दीका बेला मानिसहरू घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टोली डकुमेन्ट्री बनाउन व्यस्त थियो । यसलाई पुकार तिमिल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन् ।

‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरूको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिने निर्देशक पाण्डेले जानकारी दिए । ‘मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरूले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौँ र, आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौँ’, उनको भनाइ छ । साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री छन् ।