मेहन्दीको रङ्गसँगै यसरी खुलिन् स्वेता

मेहन्दीको रङ्गसँगै यसरी खुलिन् स्वेता


‘मेहन्दीको रङहरूसँगै खुल्दैछु म, जीवनको नयाँ पानाहरूमा भुल्दैछु म…!’
अभिनेत्री स्वेता खड्काले विवाहको ठिक अघिल्लो दिन आफ्नो फेसबुक वालमा लेखिन् र आफ्नो मेहन्दी सेरेमोनीका सुन्दर तस्बिरहरू शेयर गरिन् ।

माथिका पङ्क्ति सर्सर्ती हेर्दा सामान्य लाग्छ । सामान्य नै हो पनि । तर, स्वेताको जीवनका पन्नालाई एक–एक गरी पल्टाउँदै नियाल्ने र गहिरिएर विचार गर्ने हो भने उल्लिखित पङ्क्तिले एक ब्यथित युवतीको जीवनमा आइपरेको असामान्य उथलपुथलपछि थामिएको आँधी अनि, आँधिपछि छाएको शान्तिमा पल्लवित हुन थालेको पुष्पको सुगन्ध मग्मगाउँछ ।

लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बाँधिएको कसिलो विवाह बन्धन अकल्पनिय रूपमा त्यति छिट्टै चुँडिएला भन्ने कसैले कल्पना गरेका थिएनन् । स्वेताका सपना खरानी बनेर हावा–हावा हुँदै अनन्तमा सहजै विलिन होला भनेर सोच्न सक्ने भविष्यद्रष्टा कोही थिएनन् । तर, विधिको विधान टार्न सक्ने यस धर्तीमा अहिलेसम्म को नै जन्मिएको छ र ? लोकप्रियताको उत्कर्षमा रहेकै बेला अल्पायुमै श्रीकृष्ण श्रेष्ठको चोला उठ्यो । प्रणय बन्धनमा बाँधिएको एक महिनामै रुप र स्वभाव दुवै कोणबाट चम्किली स्वेताले स्वेतवस्त्र धारण गर्ने एकल महिलाको रूपमा आफूलाई उभ्याउनुपर्ने कठोरावस्था सिर्जना हुन पुग्यो । श्रीकृष्ण र स्वेतालाई असीम प्रेम र प्रशंसा गर्ने लाखौँ दर्शकको मुटु पग्लियो । सबैले ईश्वरसँग पुकारा गरे कि स्वेताजस्ती कोमल हृदयकी सुन्दरी नारीको खुशी फर्काइदेउ भगवान् !

हो…, स्वेतालाई हृदयदेखि नै प्रेम, प्रशंसा र श्रद्धा गर्ने तमाम दर्शक तथा शुभचिन्तकको यही पुकारा आखिर श्रीकृष्णसँग उनले अप्रत्यासित रूपमा बिछोडिनु परेको ६ वर्ष गुज्रिएपछि साकार भएको छ । स्वेताको जीवनमा नयाँ मोड आएको छ । स्वर्गवासी भइसकेका श्रीकृष्णको यादलाई मुटुको एक कुनामा श्रद्धाका साथ सजाउँदै नयाँ जीवनको आरम्भ गर्ने घुम्ती भर्खरै काटेकी छन् स्वेताले ।

तर, यसरी नयाँ जीवनको सपना बुन्दै गरेको कुरालाई अन्तिमसम्म लुकाएर, चासो राख्नेलाई छलेर र खुलासा गर्नेहरूको प्रतिवाद गरेर दोस्रो बिहेअघि थोरै विवादमा तानिइन् उनी । ‘आफ्नो खुशी देख्न नचाहनेहरूको प्रलाप..’ भन्ने आशयमा फेसबुकमा लामो स्टाटस लेखेर समेत चर्चामा आइन् स्वेता । उनीजस्ती शालिन सुन्दरी त्यसरी भड्किहाल्लिन् भन्ने सायद कसैले सोचेका थिएनन् । तर, त्यो प्रसङ्ग अब कोट्याइरहनु आवश्यक नहोला ।

गत सोमबार काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टमा उनै अभिनेत्री श्वेताको विवाह धुमधामका साथ सम्पन्न भएको छ । स्वेताले धनगढीकाका विजयेन्द्र सिंह रावतको हातको सिन्दुर आफ्नो सिउँदोमा सजाइसकेकी छन् ।

विवाहको दिन समेत अभिनेत्री श्वेताले फेसबुकमा झण्डै आधा दर्जन पोस्ट गर्न भ्याइन् । कला क्षेत्रमा चासो राख्ने र स्वेतालाई माया गर्ने सबैलाई उनले नयाँ जीवन शुरु गर्न लाग्दाको अवस्थामा उनका हरेक क्रियाकलापको चासो त रहने नै भयो । सोअनुसार उनी सामाजिक सञ्जालमा कसरी प्रस्तुत भइरहेकी छिन् भनी नियाल्ने नै भए शुभचिन्तकहरूले ।

सोमबार राति साढे ११ बजे समेत श्वेताले एउटा भावुक स्टाटस लेख्दै आफ्नो सिउँदोमा सिन्दुर भरिएका तस्बिहरू शेयर पनि गरिन् । तस्बिरसहित स्वेताले लेखेकी छिन्- ‘अन्तत्वगत्वा मैले सिउँदोमा सिन्दुर भरेँ, हातमा सप्तरङ्गी चुरा लगाएँ अनि रङ्गीन पहिरनभित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ, मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र, आफन्तजन, गन्यमान्य ब्यक्तित्व, शुभचिन्तकलगायत मलाई सधैं साथ र समर्थन गर्ने मेरा सञ्चारकर्मी मित्रहरूको सुभेक्षा र आशीर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुरजस्तै अझै उच्च स्थानमा पुऱ्याउनु छ । निर्माणाधीन माझिटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरूलाई मेरो हातमा चम्किएका चुराहरू जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । म थप सशक्त नारीको रूपमा तपाईंहरूको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको सशक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनको लागि म प्रयासरत रहनेछु । अतः मलाई तपाईंहरू सम्पूर्णको साथ, सल्लाह, सुझावका साथै शुभ आशीर्वादको आवश्यकता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सद्भाव तथा साथ पाउने आशा बोकेकी छु ।’

हो, जीवनका तमाम प्रतिकुलतासँग पौँठेजोरी खेल्दै विजयका पाइला बढाउँदै आएकी स्वेताको केही गर्ने उत्साहमाथि सबैको साथ र शुभेच्छा रहनुपर्छ । स्वेताको जीवन सुखमय र सफल रहोस् भन्ने कामना गरौँ ।