काङ्ग्रेसद्वारा शिक्षक हत्याको भत्सर्ना

काङ्ग्रेसद्वारा शिक्षक हत्याको भत्सर्ना



देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन अपिल

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको नेपाली कांग्रेसले निन्दा र भत्सर्ना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबार भएको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत प्रतिबन्धित सो पार्टीको नेतृत्वलाई अपिल गरेको छ ।

बैठकले पार्टीले यही मङ्सिर २९ गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड-१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने मङ्सिर १९ गते निर्णय गरेको थियो ।

बताइएअनुसार बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधिमार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।