नाइजेरियाको लागोसमा अज्ञात बन्दुकधारीहरुले शुक्रबार र आइतबार गरेको आक्रमणका कारण त्यहाँका कम्तीमा पनि तीन सय विद्यार्थी बेपत्ता भएका छन् ।
त्यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् ।
नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो । सो राज्यका गभर्नर अमिनु मासारीले सो जानकारी दिँदैशुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताएको सिन्ह्वाले जनाएको छ ।
उक्त विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेका र अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुन सक्ने अनुमान गरिएको छ । ती बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् ।
नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गर्नुभएको छ ।
नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गरेका समाचारमा जनाइएको छ । उता गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गरेका छन् । पछिल्लो समयमा विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताए ।
नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । तर यो पछिल्लो पटक भएको अपहरणको घटनाको बारेमा भने उनीहरुले केही बताएका छैनन् । सरकारले भने सो समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने जानकारी गराएको छ ।
प्रतिक्रिया