कोरोना विरुद्धको फाइजर-बायोएनटेक खोप क्यानाडामा पनि भित्र्याइएको छ । पहिलो चरणको खोप आइतबार (१३ डिसेम्बर) स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “फाइजर–बायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।”
उनले गत बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए ।
त्यसअघि क्यानाडाको स्वास्थ्यसम्बन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।
खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए ।
क्यानाडाले यो डिसेम्बर महिनाभित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै वर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।
कोरोना भाइरसका कारण क्यानाडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया