नयाँ वर्षको विदा मनाउने क्रममा समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

नयाँ वर्षको विदा मनाउने क्रममा समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह



विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भीडभाड र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ ।

युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो । यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको सिन्ह्वाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो जनाएका छन् । उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन आग्रह गरेका छन् ।

आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने उनको धारणा छ ।

युरोपका निर्देशक ह्यान्सले युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा वृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि उनले बताएका छन् ।

चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाइनु पर्ने ह्यान्सको तर्क छ ।