नाइजेरियामा करिब ८० विद्यार्थी अपहरणमुक्त

नाइजेरियामा करिब ८० विद्यार्थी अपहरणमुक्त


नाइजेरियाको उत्तरी राज्य कात्सिनामा सशस्त्र डाँकुहरूसँगको झडपपछि कम्तीमा ८० विद्यार्थीलाई अपहरणमुक्त गरेको नाइजेसरियाली प्रहरीले आइतबार जनाएको छ ।

शनिबार एक धार्मिक समारोहमा सहभागी भएर फर्किने क्रममा बन्दूकधारी एक समूहले उनीहरूलाई अपहरण गरी लगेको कात्सिना राज्यका प्रहरी प्रवक्ता ग्याम्बो आइसालाई उद्धृत गर्दै एएफपीले जनाएकोछ ।

स्थानीयले प्रहरीको सहयोगमा आफ्ना बावुनानीहरूलाई छुटाउन फुलानी समुदायको एक वस्तीमा नियन्त्रण लिई आफ्ना बालबालिकालाई केही भएमा फुलानी समुदायमाथि धावा बोल्ने बताएपछि अपहरणकारी उक्त समूहले सबै विद्यार्थीलाई छोड्न बाध्य बनेका थिए ।

अपहरणमा परेका सबै विदार्थीहरू धार्मिक कार्यक्रममा सहभागी भइ माहुता गाउँमा फर्किंने क्रममा अपहरणमा परेका थिए । शनिबार अपहरणमा परेकामध्ये अहिलेसम्म परिवारको सम्पर्कमा आएका छात्रछात्राको सङ्ख्या आइतबार साँझसम्म ११३ पुगेको छ ।

नाइजेरियामा विभिन्न समूहले स्थानीय बालबालिका तथा वयस्क व्यक्तिलाई अपहरण गर्ने र आफू अनुकुल हिडाउँने अभ्यास नौला भने होइनन् ।

नाइजेरियामा अपहरणमा परेका ३४४ जना विद्यार्थीलाई ६ दिनपछि फर्काएको ठीक ४८ घण्टामा अर्को अपहरणको घटना भएको हो । उनीहरू अघिल्लो हप्ता अपहरणमा परेका थिए ।

उनीहरूको अपहरणमा नाइजेरियाली जिहादी समूह बोको हरामको सम्लग्नता रहेको भनी उक्त समूहले जिम्मेवारी लिएको थियो ।