कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । बिहीबारदेखि खोप लगाउने अभियान चलाइने कुवेतका स्वास्थ्यमन्त्री बसेल अल सबाहले जानकारी दिए ।
अभियानअन्तर्गत त्यहाँ सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । एक वर्षभरी एक/एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिइएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि स्वास्थ्यमन्त्री सबाहले बताए ।
पछिल्ला महिनाहरुमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति सबैलाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो ।’
खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने कुवेती सरकारी अधिकारीहरुले आशा गरेका छन् ।
कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार मात्र स्वदेश ल्याएको बताइएको छ ।
प्रतिक्रिया