ब्राजिलमा एक लाख ८९ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु

ब्राजिलमा एक लाख ८९ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु



ब्राजिलमा विगत २४ घण्टामा ९६१ कोभिड-१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यससँगै ब्राजिलमा बिहीबारसम्म कोभिड-१९ सङ्क्रमित एक लाख ८९ हजार २२० व्यक्तिको मृत्यु भएको छ ।

उक्त अवधिमा ४६ हजार ६९६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७३ लाख ६५ हजार ५१७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

कोभिड–१९ सङ्क्रमणको महामारीबाट अति प्रभावित करिब चार करोड ६० लाख जनसङ्ख्या रहेको ब्राजिलको अति घना सहर साओ पाउलोमा मात्र अहिलेसम्म कूल ४५ हजार ५७६ व्यक्तिको मृत्यु भएको छ भने १४ लाख नौ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

साओ पाउलो राज्यमा डिसेम्बरका सुरुका २३ दिनमा नोभेम्बरको सोही अवधिको तुलनामा कोभिडजन्य सङ्क्रमण र मृत्युका घटना बढेका देखिएका छन् ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि क्षेत्रीय राजधानी साओ पाउलोमा क्रिसमस र नयाँ वर्षलाई लक्षित गरी डिसेम्बर २५, २६ र २७ तथा जनवरी १, २ र ३ मा बार रेष्टुरेण्टसहितका दैनिक अति आवश्यक सेवा बाहेकका सेवालाई बन्द गर्ने बताइएको छ ।

क्रिशमस र नयाँ वर्षमा नागरिकहरू पर्वमय मानसिकतामा रहने र धार्मिक, साँस्कृतिक तथा सामाजिक क्रार्यक्रमहरूलाई धुमधामका साथ मनाउने भएकोले यसका कारण हुने भीड तथा जमघटले कोभिड-१९ सङ्क्रमण थप फैलिने भन्दै सरकारले ती दिनहरूमा अतिआवश्यक सेवाबाहेकका सेवालाई बन्द गर्ने बताएको हो ।