वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं. १२५९/०७३/०७४ एस.आर. ग्रुप नेपालले भिजिट भिजामा सयौँको सङ्ख्यामा नेपाली कामदारहरू वैदेशिक रोजगारमा पठाएको प्रमाण भेटिएको छ । म्यानपावरका सञ्चालक राधामोहन जैसवालले गत हप्ता मात्रै दर्जनबढी कामदारलाई जनही एक लाख पचास हजारदेखि तीन लाखसम्म रकम लिएर भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाएको खुल्न आएको छ ।
उक्त म्यानपावरका सञ्चालक जैसवालले नक्कली टिकट र कागजात बनाएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूसँग रकम उठाइरहेको खुलेको छ । भुलन मुखिया पासपोर्ट नं. ११८०६०९४ रामबाबु प्रसाद रौनियार पासपोर्ट नं. १०४६८०३८ लगायत दर्जनौँ बेरोजगार युवाहरूसँग एकलाख पचास हजारका दरले जैसवालले रकम उठाएका छन् । जैसवालको एकल स्वामित्व रहेको कम्पनीमार्फत् नक्कली कागजात बनाएर रकम असुलेका सक्कल प्रमाण फेलापरेका छन् ।
राधामोहन जैसवालका एजेन्ट गोरख पटेल भनेर चिनिने गोरख राउत कुर्मी लगायत दर्जनौँको सङ्ख्यामा रहेका जैसवालका एजेन्टहरूले तराईका सोझा र गरिब युवाहरूलाई ठगेको पाइएको छ । एस.आर.गु्रप नेपालबाट कति संख्यामा नेपाली कामदार भिजिट भिजामा वैदेशिक रोजगारीमा गए भन्ने अनुसन्धान भइरहेको बुझिन्छ ।
विश्वभरी फैलिएको कोभिड महामारीका कारण गत वर्ष चैत्र ११ देखि सरकराले मुलुकभर बन्दाबन्दी गरेको थियो । लकडाउन खुकुलो र अन्तर्राष्ट्रिय उडान खुला भएपछि म्यानपावर कम्पनी, एजेन्ट र मानव तस्करहरूले रोजगारीमा जाने नागरिकसँग ठूलो मात्रामा रकम असुल गरी भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । वैदेशिक रोजगार विभागले गत हप्ता एकै दिन चार म्यानपावर र केही ट्राभल्स एजेन्सीमा छापा मारेपछि भिजिट भिजामा सेटिङ गरेर वैदेशिक रोजगारीमा जाने क्रम केही कम भए पनि कर्मचारीको सरुवासँगै म्यानपावर, एजेन्ट र ट्राभल्सहरूले सेटिङको अर्को बाटो खोजिरहेको सुचना प्राप्त भएको छ ।
- बामदेव स्याङ्जाली
प्रतिक्रिया