जोर्डनमा कोरोना खोपबारे भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

जोर्डनमा कोरोना खोपबारे भ्रामक समाचार लेखेको आरोपमा पत्रकार पक्राउ


जोर्डनले कोरोना भाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकारलाई गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

जोर्डनको न्यायिक स्रोतलाई उद्धृत गर्दै एएफपीले शनिबार जनाएअनुसार सरकारी अधिकारीहरूले कोरोनाभाइरस खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा अनलाइन पत्रिका अलवाकाइका सम्पादक जमाल हद्दादलाई पक्राउ गर्ने आदेश दिइएको छ, ।

देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप उनमाथि लगाइएको छ ।

मुद्दाको सुनुवाइका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ । अल–वाकाईले गत मंगलबार प्रकाशित एउटा लेखमा ‘जनतालाई खोपको व्यवस्था के हुन्छ ? के फाइजर (खोप) गोप्य रूपमा आएको थियो, र जोर्डन सरकारका वरिष्ठ अधिकारीलाई खोप दिइयो’ भन्नेबारे समाजलाई भड्काउने किसिमको समाचार सम्प्रेषण गरेको थियो ।

जोर्डनले डिसेम्बरको मध्यतिर फाइजर–बायोएनटेक कोरोनाभाइरस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारी वाएल अल–हयाज्नेले बुधवार यो खोप जनवरीमा वा फब्रअरीमा राज्यमा आइपुग्ने बताएको छ । समाचारमा खोप आइसकेको र उच्च पदस्थ अधिकारीले यसको प्रयोग गरिरहेको उल्लेख गरिएकोले यसले समाजलाई सरकारविरोधी गतिविधिमा उत्साहित गर्न भड्काउने उक्त अदालतको ठहर छ ।

उक्त देशका पत्रकारको संगठनले हदादको तुरुन्त रिहाइको आह्वान गर्दै उनको गिरफ्तारीले ‘जोर्डनको छविलाई हानी पु¥याएको’ दाबी गरेको छ । पत्रकारको विनाशर्त रिहाईका लागि पनि संगठनले आग्रह गरेको छ ।