रूसी स्पुतनिक-भी खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना

रूसी स्पुतनिक-भी खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना



अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक-भीको खोप प्रयोग गर्दै कोभिड-१९ विरुद्धको निर्मूलीकरण अभियान मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन् ।

महामारीको विरूद्ध यो खोप प्रयोग गर्ने यो पहिलो अमेरिकी मुलुक हो ।

यो खोप अभियान देशभरी एकैसाथ शुरु भएको र शुरुमा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारी खोपको प्राथमिकतामा परेको अर्जेन्टिनाका स्वास्थ्य मन्त्री जीन्स गोन्जालेज गार्सियाले बताए ।

राजधानी ब्यूनस आयर्सको पोसाडास अस्पतालमा बोल्दै उनले भने, ‘हामीले आफ्नो ख्याल राख्नुपर्नेछ । खोपको व्यापक प्रभाव हुन केही महिना लाग्नेछ ।’

खोपको शुरुआत फ्लाभिया लोयाकोनो नामका एक महिला चिकित्सकबाट गरिएको बताइएको छ । अहिलेसम्म मेक्सिको, कोस्टारिका र चिलीपछि अर्जेन्टिना खोप अभियान सञ्चालन गर्ने चौथो ल्याटिन अमेरिकी देश हो ।

कोभिड-१९ विरुद्धको रूसी उत्पादनको पहिलो तीन लाख मात्रा अर्जेन्टिनामा क्रिसमसपूर्व नै आइपुगेको थियो । उक्त खोपलाई दुई पटक लिएपछि कोभिड-१९ सङ्क्रमणको जोखिम नरहने अनुसन्धानले देखाएको खोप निर्माता कम्पनीका अनुसन्धान विज्ञहरूले बताएका छन् ।

अर्जेन्टिनामा आगामी फेब्रुअरीसम्ममा करिब दुई करोड खोप पुग्ने र जोखिमको प्राथमिकताका आधारमा नागरिकहरूलाई खोप दिइने मन्त्री पोसाडासले बताए ।

अर्जेन्टिनाले रूसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिए पनि उसले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको खोप लिनका लागि फाइजर–बायोएनटेकसँग पनि सम्झौता गरेको छ र यसलाई देशमा ल्याउनका लागि निर्माता कम्पनीहरूसँग छलफल गरिरहेको बताइएको छ । अर्जेन्टिनामा कोभिड-१९ सङ्क्रमित झण्डै ४३ हजार व्यक्तिको मृत्यु भएको छ भने करिब १६ लाख व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।