नेपालको परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी नभए पनि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपप्रमुख ग्युओ यइचौको चार सदस्यीय प्रतिनिधि मण्डल नेपाल आउने कुराको पूर्वजानकारी प्रचण्ड र माधवकुमार नेपाललाई सबैभन्दा पहिले नै भएको बुझिएको छ ।
गत वर्षदेखि प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग राम्रो सम्बन्ध बनाउन सफल भएका छन् । अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङसँग राम्रो सम्बन्ध बनाउन सकेकै कारण गत वर्ष चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल भ्रमणमा आउनुहुँदा वाङले प्रचण्डसँग राष्ट्रपति सीलाई छुट्टै भेटको प्रबन्ध मिलाउन लाग्नुभएको थियो । यही विषयलाई लिएर नेपालको सरकारी पक्षसँग सानो स्तरको भए पनि चर्काचर्की परेको थियो ।
नेपाल सरकारले अन्य सबै नेपाली नेताहरूसँग राष्ट्रपति सीलाई सामूहिक रुपमा भेट्ने व्यवस्था मिलाएको थियो । त्यसबेलादेखि नै विदेश विभाग प्रमुख वाङप्रति नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सशङ्कित रहँदै आएको बताइन्छ । वाङको जोड चलेको भए त्यतिबेलै प्रचण्डलाई राष्ट्रपति सीसँग विशेष भेटको अवसर मिल्ने थियो ।
त्यसबेला सीसँग प्रचण्डको एकल भेट हुन नदिन केपी सफल भए पनि प्रचण्ड र माधव नेपालसँग वाङको सुध्रिँदो सम्बन्धबारे भने मौन रहँदै आउनुभएको थियो । उपप्रमुख यइचौका भ्रमण पार्टी पुनर्एकीकरणका लागि भएको प्रचार भए पनि प्रचार भएजस्तो परिणाम आउन नसक्ने देखिएको छ ।
प्रतिक्रिया