‘प्रचण्ड मिल्न आएका हुन् कि एमाले निल्न ?’

‘प्रचण्ड मिल्न आएका हुन् कि एमाले निल्न ?’



नेकपाको विभाजन हुँदासम्म प्रचण्ड पक्षमा दृढतापूर्वक उभिएका नेता (उपाध्यक्ष) वामदेव गौतम पार्टीको फुटपछि भने ‘तटस्थ’ भूमिकामा देखापरेका छन् । सचिवालयमा बामदेव गौतमले तटस्थ भूमिका निर्वाह गर्दा कुनै निर्णय हुन नसक्ने (दुवैतिर चार-चार जना) अवस्था थियो भने गौतमले साथ दिएको पक्ष बहुमतमा रहने निश्चित थियो । यसपटक पार्टी विभाजनको पक्षमा त बामदेव थिएनन्, तर ठीक समयमा उचित भूमिका निर्वाह गर्न भने उनले सकेनन् ।

बामदेवले प्रचण्ड र केपी दुवै पक्षले आयोजना गरेका बैठकहरूमा अहिलेसम्म सहभागिता जनाएका छैनन्, तर गत आइतबार गौतमले दिएको एउटा अभिव्यक्तिले भने उनी प्रचण्ड पक्षमा नलाग्ने सङ्केत दिएको छ । गौतमले आफ्नो निकटस्थहरूसँग प्रश्न गरेका छन्- ‘प्रचण्ड मिल्न आएका हुन् कि एमाले निल्न ?’ उनको यस्तो अभिव्यक्ति सुन्नेहरूले बामदेव अन्ततः केपीकै पक्षमा जोडिने ठान्न थालेका छन् ।

विभाजित नेकपामा को कतातिर लाग्ने भन्ने कुराको निर्णायक प्रभाव चुनावचिन्हले पार्ने देखिन्छ । अब पार्टीको नाम र चुनावचिन्हका विषयलाई लिएर नेकपाभित्र कानूनी र राजनीतिक लडाइँ निकट भविष्यमै शुरु हुनेछ । दुवै पक्षले नेकपा नाम र सूर्यचिन्ह हात पार्न कोशिस गर्दा निर्वाचन आयोगले कस्तो निर्णय सुनाउला भन्ने जिज्ञाशा सवत्र छ ।

सूर्य चिन्ह लिएर गत निर्वाचनमा विजयी सांसदहरूको बहुमतले ‘सूर्य’ चिन्ह लिखित रूपले नै माग गरेमा निर्वाचन आयोगले उक्त मागलाई उपेक्षा गर्न मुस्किल पर्ने देखिन्छ । केपीको पक्षमा एमाले कित्ताका कुल १२१ सदस्यमध्ये कम्तिमा ७५ देखि ८० सम्म रहेको बताइन्छ । त्यस्तो अवस्थामा पार्टीको नाम प्रचण्डलाई दिएर चुनाव चिन्ह सूर्यचाहिँ केपी पक्षलाई उपलब्ध गराउने निर्णयमा निर्वाचन आयोग पुग्यो भने कुनै आश्चर्य हुने छैन । त्यस्तो अवस्थामा एमाले कित्ताका अधिकाङ्श नेता-कार्यकर्ताहरू ‘सूर्य’तिरै सर्ने सम्भावना छ । र, बामदेव गौतमले पनि ‘सूर्य’कै प्रतीक्षा गर्ने विश्वास गरिएको छ ।