प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौंमा उपलब्ध नेता-कार्यकर्ताको भेलालाई बुधबार सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्नुभयो । आफ्ना नेता-कार्यकर्ता र सबै दललाई उहाँले चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वोच्च अदालतमा विचारधीन छ ।
प्रधानमन्त्री ओलीले यस स्थितिमा अर्को सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गर्नुभयो ।
‘म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुस्। चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ’, प्रधानमन्त्रीको प्रष्टोक्ति थियो ।
प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘के चुनावमा जाँदा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता सङ्कटमा पर्छ र ? झन् बलियो हुने होइन र ?’ विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गर्नुभयो ।
नेकपाभित्रको विवादका प्रसङ्गमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्को पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गर्नुभयो ।
सम्बोधनको क्रममा अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणापछि पुष्पकमल दाहाललाई आपसमा अन्तरविरोध भए पनि चुनावमा मिलेर जान प्रस्ताव गर्दा उहाँले अस्वीकार गरेको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले पूर्व-पश्चिम, केरुङ-काठमाडौं र वीरगञ्ज-काठमाडौं रेलमार्ग निर्माण हुने अठोट व्यक्त गर्दै विभिन्न विमानस्थल र पूर्वाधार विकास/निर्माण तीव्र गतिले भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ-नयाँ काम भइरहेको छ । औद्योगिक क्षेत्रको विकास गरिएको छ । एकै दिनमा ३०० भन्दा बढी अस्तपाल उद्घाटन गरेका छौँ । जनता आवास निर्माण, विद्यालय र अस्पतालको पुनः निर्माण, कृषिको आधुनिकीकरणजस्ता धेरै क्षेत्रमा प्रगति हासिल भएको छ । भएको कामलाई पनि नदेख्ने दृष्टिदोष भएकाबारे म टिप्पणी गर्न चाहन्न ।
‘हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ । तपाईंहरु अघि बढ्नुस्, मेरो शुभकामना छ’, उहाँले भन्नुभयो ।
सो अवसरमा नेकपाका नेता लेखराज भट्टले सडकमा गएर पार्टी एकता नहुने जनाउँदै चुनावको तयारीमा लाग्न सबै दललाई आग्रह गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका भट्टले ओली नेतृत्वको नेकपामा ‘लिगेसी’ रहेकाले यस पक्षमा लाग्न आह्वान गर्दै सडकमा विरोधका नारा नउठाई सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानलाई साथर्क बनाउनुपर्नेमा जोड दिनुभयो । नेकपाका केन्द्रीय सदस्य कर्णबहादुर थापाले सत्ताका लागि भन्दा पार्टी एकतामा आबद्ध हुन आग्रह गर्नुभयो ।
आ-आफ्ना धारणा राख्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिं ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले अघि सारेका विकासनिर्माणका कामलाई थप अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

pict:rss
प्रतिक्रिया