ज्याक्सनका सामान लिलामीमा

ज्याक्सनका सामान लिलामीमा


विश्वविख्यात दिवङ्गत पपगायक माइकल ज्याक्सनको मृत्यु हुनुमा उनको निजी डाक्टर कनरोड दोषी रहेको ठहर अदालतले गरेलगत्तै ज्याक्सनले प्रयोग गरेका केही निजी सामान लिलाम गरिने भएको छ । ज्याक्सनको निधन भएको लस एन्जियल्सस्थित घरमा गरिने लिलामीमा विशेष रूपमा एउटा बोर्डलाई प्राथमिकता दिइनेछ जसमा ज्याक्सनका केटाकेटीले लेखेका छन्, ‘ड्याडी, हामी तपाईंलाई अत्यन्त प्रेम गर्र्छौं ।’ लिलामीमा ती सामानको बिक्री गरिनेछ जो ज्याक्सनको अन्तिम समयमा उनका आसपास रहेका थिए । यसरी सामानहरू लिलामी गर्नुपर्नुको अलग्गै दु:खदायी पक्ष रहेको तर त्यो सार्वजनिक नगरिने जनाइएको छ । ज्याक्सनको लस एन्जियल्सको होलम्बु हिल्स इलाकास्थित घरमा गत २५ जुन २००९ का दिन रहस्यपूर्ण बिमारीपछि देहान्त भएको थियो ।

आनन्दका लागि हत्यापछि अङ्ग सङ्कलन
कोही रोमाञ्च या मस्तीका लागि मानवहत्या गर्छ र त्यसरी हत्या गरिएका शरीरबाट छानी-छानी विभिन्न अङ्गहरू जतनसाथ जम्मा गर्दै जान्छ भने निश्चय पनि यो दुखदार्श्चर्यको विषय बन्न पुग्छ । यस्तै अजीव अपराध गर्ने एक अमेरिकी सैनिकलाई हालै जन्मकैदको सजाय सुनाइएको छ ।
घटना अफगानिस्तानको हो, जहाँ खटिएको अमेरिकी सेनाको एक टुकडीका सरदार कल्बिन गिब्सले व्यक्तिगत आनन्द उठाउनकै लागि अफगानी आमनागरिकको हत्या गर्दै गए र ‘युद्धको चिनो’का रूपमा पीडितको शरीरका टुक्रा पनि जम्मा गरी आफूसाथ राखे । कोर्ट मार्शलको कारबाहीपछि गिब्सलाई युद्धसम्बन्धी मामलामा दोषी पाइएको थियो जसमध्ये ‘मज्जा-रोमान्सका लागि हत्या’ प्रकरणमा समेत उनको प्रमुख भूमिका देखिएको एजेन्सीहरूले जनाएका छन् ।

गोलभेंडा कति गुनिलो !
गोलभेंडाको स्वादमा रमाउनेहरूलाई अनुसन्धानकर्ताहरूले थप खुसीको खबर दिएका छन् । हालै गरिएको एक अनुसन्धानपश्चात् दाबी गरिएको छ कि हरेक दिन गोलभेंडा खाने गरेमा मुटुसम्बन्धी रोग नजिक पर्नै पाउँदैन । किनकि, यसले कोलेस्ट्रोल तथा रक्तचापको स्तरलाई एकदम कम गर्न सघाउँछ । युनिभर्सिटी अफ एडिलेडका वैज्ञानिकहरूको अगुवाइमा एक अन्तर्राष्ट्रिय अनुसन्धान दलले दाबी गरेको छ कि गोलभेंडामा पाइने रातो तत्त्व ‘लाइकोपेन’मा एन्टिअक्सिडेन्ट जस्तो गुण पाइन्छ जो स्वास्थ्यका लागि उपयोगी हुन्छ । अनुसन्धानकर्ताहरूले कोलेस्ट्रोल तथा रक्तचापमाथि लाइकोपेनको प्रभावको विश्लेषण गरेर यो निष्कर्ष निकालेको बताइएको छ ।

डेढ मिनेटभित्रै लादेनको काम तमाम
विश्वकै नम्बर एक आतङ्कवादीका रूपमा परिचय बनाएका ओसामा बिन लादेनको इहलीला समाप्त भएको ६ महिना पूरा भइसकेको छ, तर लादेनसँग सम्बन्धित अनेक विषयका चर्चा जारी नै छ । यसै क्रममा एउटा नयाँ दाबी सामुन्ने आएको छ । अमेरिकी विशेष बल’सिल’का एक पूर्वकमान्डर चङ्क फेररले हालै एक पुस्तक प्रकाशित गरेका छन् जसमा एवटावादमा लादेनविरुद्ध कारबाही सुरु गरिएको डेढ मिनेटभित्रै लादेनको हत्या गरिएको खुलासा गरिएको छ । फेररको यो दाबी लादेन-अन्त्यको आधिकारिक विवरणको ठ्याम्मै उल्टो छ । उनले आफ्नो पुस्तकमा भनेका छन्, ‘ओसामा लामो सङ्घर्षपश्चात् होइन, बरु कारबाही सुरु गरिएको नब्बे सेकेन्डभित्रै मारिएका थिए, उनीमाथि चार राउन्ड गोली चलाइएको थियो ।’

तानाशाह मर्ने बेला किताबको थाकमा
भनिन्छ, आफ्नो शासनको अन्त्यकाल निश्चित भएपछि लिबियाका पूर्वशासक मुहम्मर गद्दाफीले एक सय ३४ टन सुन सुरक्षित रूपमा थन्क्याउन छिमेकी मुलुक पठाएका थिए । यसैगरी पाँच खर्बभन्दा बढी अमेरिकी डलर उनले विदेशी बैंकमा थन्क्याएका थिए । स्वदेशभित्रको उनको सम्पत्तिको लेखाजोखा नै थिएन । तर, त्यस्तो ऐर्श्वर्यशाली भएर पनि जीवनका अन्तिम दिनहरू उनले खानेकुराका एक-एक दानाका लागि तड्पिएर गुजार्नुपरेको खुलासा भएको छ । सत्तामा रहेको चार दशक अवधि अत्यन्त ठाँटबाँटका साथ बिताएका गद्दाफीले अन्तिम अवस्थामा ज्यान जोगाउन लुकेको सिर्ते सहरको एक जिर्ण घरमा बिजुलीको व्यवस्था पनि थिएन । उनी आफू जन्मेको गाउँ जारेफमा पुगेर मर्न चाहन्थे तर सिर्तेबाट जम्मा २० किलोमिटर मात्र टाढा रहेको उक्त गाउँसम्म पुग्ने मौका उनले पाएनन् । लिबिया छोड्दा गद्दाफीले आफ्नो साथमा एउटा सुटकेसभरि पुस्तक लगेका र तिनै किताबमा आँखा डुलाउँदै उनले समय कटाएका थिए, जतिबेलासम्म उनी विद्रोहीहरूको हात परेका थिएनन् ।