‘अमेरिकी इतिहासकै कालो दिन’ : उपराष्ट्रपति पेन्स

‘अमेरिकी इतिहासकै कालो दिन’ : उपराष्ट्रपति पेन्स



अमेरिकाको संसद भवन क्यापिटलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले गरेको हिंसात्मक उपद्रवको उपराष्ट्रपति माइक पेन्सले निन्दा गरेका छन् । अमेरिकी इतिहासमै यो कालो दिन बन्न पुगेको भन्दै घटनामा एक महिलाको मृत्यु भएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

हिंसालाई माध्यम बनाउन खोज्नेहरूले कहिल्यै जित्न नसक्ने भन्दै उनले घटनामा संलग्नहरूलाई कडा कारवाही गरिने बताएका छन् ।

राष्ट्रपति ट्रम्पका समर्थकहरूको एक हिंसक समूहले क्यापिटलमा पसेर हंगामा गरेको घटना यतिबेला विश्वभर छाएको छ । अमेरिकी कंग्रेसमा सांसदहरूले राष्ट्रपति–विजेता जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हंगामा भएको हो । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्पका समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेर हडकम्प मच्चाउन थालेपछि बहस नै रोक्नु परेको थियो ।

ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका बताइएको छ । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका थिए भने सो क्रममा प्रहरीबाट चलेको गोलीबाट एक महिलाको मृत्यु भएको छ ।