ट्रम्पमाथि ‘सत्ता-विद्रोह’को आरोप

ट्रम्पमाथि ‘सत्ता-विद्रोह’को आरोप



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए ।

ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ ।

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरेका थिए । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।

राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौं सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् ।

वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक र्यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भिडले संसद भवनमा आक्रमण गरेको थियो । उनीहरुले क्यापिटोल बाहिर सुरक्षार्थ रहेका प्रहरीका ‘ब्यारिकेड’लाई छिचोल्दै भित्र प्रवेश गरेका थिए ।

उत्तेजक भिडका कैयौं सदस्य संसद भवनभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै संसदीय प्रक्रियालाई अबरुद्ध बनाएका थिए । साथै प्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर उहाँको कुर्सीमा बसेर तस्वीर समेत खिचाएका थिए ।

संसद भवन क्यापिटोलभित्रका आक्रमणकारीलाई बाहिर निकाल्न प्रहरीलाई चार घण्टा लागेको थियो । प्रहरीले दक्षिण क्यालिफोर्निया निवासी एक ट्रम्प समर्थकको गोली लागेर मृत्यु भएको थियो । तर पछिल्लो समय प्रहरीले उक्त घटनामा चार जनाको मृत्यु भएको जनाएको छ ।

बाइडेनले उक्त हिंसालाई ‘राज्य विद्रोह’ संज्ञा दिएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई तत्कालै हिंसामा संलग्नलाई शान्ति कायम गर्नका लागि आह्वान गर्न आग्रह गरेका थिए ।

“हाम्रो प्रजातन्त्र अभूतपूर्व आक्रमणको निशानामा परेको छ,’ बाइडेनले आफ्नो गृहराज्य डेलावेयरबाट भने । ‘यो मतभेद होइन । यो अव्यवस्था हो । यो अराजकता हो । यो राज्य विद्रोह सरह हो । यसको तत्कालै, अहिल्यै अन्त हुनु पर्दछ ।’

राष्ट्रपति ट्रम्पले तत्कालै एक भिडियो सार्वजनिक गर्दै आफ्ना समर्थकलाई घर फर्कन अनुरोध गरेका थिए– ‘हामी पनि शान्ति चाहन्छौं । त्यसैले घर जानुहोस् । म तपाईंलाई माया गर्दछु– तपाइँहरु साँच्चिकै विशिष्ट हुनुहुन्छ ।’ तर उनले उक्त भिडियोमा चुनावमा धाँधली भएको पुनः दोहोऱ्याएका थिए ।

फ्लोरिडाबाट आएकी ट्रम्प समर्थक ४३ वर्षीया सोन्या फिट्जेराल्डले संसद भवन क्यापिटोलको सिँढीमा उभिएर भनिन्- ‘तपाईंहरुले यस घटनालाई इतिहासको पानामा पढ्नुहुनेछ ।’

यसैबीच, सामाजिक सञ्जाल कम्पनीहरु ट्वीटर र फेसबुकले राष्ट्रपति ट्रम्पका अकाउन्टलाई अस्थायी रुपमा रोक लगाएका छन् । उनीहरुले ट्रम्पका ट्वीटहरुले देशव्यापी हिंसा भड्काएको भन्दै अकाउन्ट बन्द गरेको जनाएका छन् । यदि ट्रम्पले गलत रबैया जारी राखे ट्वीट र फेसबुक दुबैले स्थायी रुपमा अकाउन्ट बन्द गरिदिने घोषणा गरेका छन् ।

डेमोक्रेटिक पार्टीले जर्जियाको दुबै सिनेट सदस्यमा विजयी हासिल गरेको समाचार सार्वजनिक भएलगत्तै संसदमा आक्रमण भएको छ ।

जर्जियामा डेमोक्रेट पार्टीको विजयले अमेरिकी माथिल्लो सदनमा अब डेमोक्रेटको बहुमत कायम भएको छ भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि डेमोक्रेटको बहुमत छ । दुबै सदनमा डेमोक्रेटको बहुमत कायम भएकाले अब राष्ट्रपति निर्वाचित जो बाइडेनले आफूले चाहेका विधेयकहरु सहजै पारित गराउन सक्नु हुनेछ ।

इतिकासकारको भनाईमा अमेरिकी संसद भवन क्यापिटोलमा यो दोस्रो पटक हमला भएको हो । यसअघि सन् १८१२ को युद्धमा बेलायती सेनाले क्यापिटोलमा आक्रमण गरी आगो लगाइदिएका थिए ।

दुई सय वर्षभन्दा बढी समयदेखि अमेरिकी संसद अर्थात् कङ्ग्रेसको संयुक्त सदनले नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई सहज र शान्तिपूर्वक प्रमाणीकरण गर्ने प्रचलन थियो । अमेरिकी संविधान र कानुन बमोजिम अमेरिकी दुबै सदनले अमेरिकी मतदातालाई जिताएर पठाएका इलेक्टोरल मतलाई गणना गरी त्यसलाई प्रमाणित गर्ने र संयुक्त सदनले राष्ट्रपति निर्वाचित भएको अन्तिम घोषणा गर्दछ ।

संसदको संयुक्त सदनले घोषणा गरेका राष्ट्रपतिले जनवरी २० मा विशेष सार्वजनिक कार्यक्रमबीच सपथ लिने कार्यक्रम राखिने गरिन्छ । तर यसपटक राष्ट्रपति ट्रम्पले आफ्ना समर्थक रिपब्लीकन सांसदहरुलाई इलेक्टोरल मतका सन्दर्भमा भिन्न मत राख्न र प्रतिवाद गर्न आग्रह गर्नु भएको थियो ।

तर कङ्ग्रेसले राष्ट्रपति ट्रम्पको आग्रहलाई अस्वीकार गरेको थियो । पहिलो गणना एरिजोना राज्यको गरिएको थियो, जसमा बाइडेन विजयी भएका थिए । तल्लो सदनका १२१ जना रिपब्लीकन सांसदले एरिजोनाको नतिजालाई लिएर विमति राखेका थिए तर सिनेटका ६ जना रिपब्लीकन सदस्यले मात्र पक्ष लिए ।

सिनेटका रिपब्लीकन सदस्यहरुले जर्जिया र मिचिगनमा पनि बाइडेन नै विजयी भएको भन्दै सहमति जनाएसँगै थप छलफल र बहस आवश्यक नै भएन ।

राष्ट्रपति ट्रम्पको कार्यकालभर ट्रम्पका कट्टर समर्थकका रुपमा चिनिएका सिनेट रिपब्लीकन नेता मिच म्याक्कोनेलले ट्रम्पको अनुरोध स्वीकार्न कठिन भएको प्रतिक्रिया दिएका थिए । ‘मतदाता, अदालत र राज्यहरु सबैले बोलिसके । यदि हामीले उनीहरुलाई विश्वास नगर्ने हो भने यसले हाम्रो गणतन्त्रलाई सदाका लागि नोक्सानी गर्नेछ ।’

पूर्व राष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसले लोकतान्त्रिक मुलुकका लागि राष्ट्रपति ट्रम्पको व्यवहार अमेरिकाका लागि लज्जाजनक रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल मुश्किलले दुई हप्ता रहेको छ । तर धेरैवटा समाचार संस्थाले राष्ट्रपतिको मन्त्रिपरिषदका सदस्यहरुबीच राष्ट्रपति ट्रम्पलाई तत्काल बर्खास्त गर्नेबारे पनि छलफल भएको बताएका छन् । अमेरिकी संविधानको २५औं संशोधनका आधारमा राष्ट्रपति कार्यकारी भूमिकामा रहन अयोग्य रहेको अवस्थामा राष्ट्रपतिलाई पदच्यूत गर्न सकिने व्यवस्था छ ।

संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यहरुले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ ।

अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्यूत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य जारी गरी आफूलाई त्यस किसिमले हस्तक्षेप गर्नसक्ने अख्तियारी नभएको जिकिर गरेका छन् ।

बुधबारको हिंसा भड्किनुअघि ह्वाइट हाउस बाहिर भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संसद भवनसम्म मार्च गर्न उक्साएका थिए ।

बाइडेनले गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा ३०६-२३२ इलेक्टोरल मतले राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए ।