फेसबुकले लगायो डोनाल्ड ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध

फेसबुकले लगायो डोनाल्ड ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध



कम्तीमा दुई साता प्रतिबन्ध लाग्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद भवनमा हमला गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो, तर अब फेसबुकले उनमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका छन् ।

जुकरबर्गले आफ्नो वक्तव्यमा भनेका छन्- ‘पछिल्लो २४ घण्टाभित्र घटेको उदेकपूर्ण घटनाले स्पष्ट गरेको छ कि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको बाँकी दिन आफ्ना उत्तराधिकारी चयन भएका जो बाइडेनलाई शान्तिपूर्ण एवम् कानुनी तवरले सत्ता हस्तान्तरण हुन नदिनका लागि जोडबल लगाएर गुजार्न चाहन्छन् ।’

‘ट्रम्पले आफ्ना उदण्ड समर्थकहरूको निन्दा गर्नुको साटो संसद भवनमा हमला गरेकोमा स्याबासी दिनका लागि यो प्लेटफर्म (फेसबुक)लाई दुरुपयोग गरे । ट्रम्पको यस हर्कतले अमेरिकाको मात्र नभइ सिङ्गै विश्वलाई चिन्तित तुल्याइदिएको छ ।’

जुकरबर्गले अगाडि भनेका छन्- ‘हामीले हिजो उनको बयानलाई हटाइदियौँ किनकि हामी निश्चित हुन पुग्यौँ कि उनको बयानको असर तथा उद्देश्य हिंसा भड्काउनु नै हो ।

‘हामीलाई लाग्छ, यस दौरान राष्ट्रपतिलाई यस प्लेटफर्म प्रयोग गरिरहन दिनु निकै खतरापूर्ण छ । यसर्थ, हामीले राष्ट्रपतिको फेसबुक र इंस्टाग्राममाथि लगाएको प्रतिबन्धलाई अनिश्चितकालको लागि, कम्तीमा दुई साता, जबसम्म सत्ताको हस्तान्तरण शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुँदैन, तबसम्मका लागि लम्ब्याउने निर्णय गरेका छौँ ।’