आगामी जनवरी २० मा हुने नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका छन् ।
राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थालेका छन् । नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा उनैले गरेका थिए ।
बाइडेनको विजयलाई रोक्ने गरी कंग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण गरेको सन्दर्भ यतिबेला विश्वव्यापी चर्चाको सन्दर्भ बन्न पुगेको छ । यस घटनामा संसद भवनभित्र र बाहिर गरी पाँच जनाको ज्यान गएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरिरहेका छन् ।
तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५औं संशोधनबमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्रेटले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावनी दिइसकेकी छन् ।
तथापि, यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन् । विभिन्न संचारमाध्यमले चाहिँ उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै हालसम्म प्रयोग नभएको संविधानको त्यस प्रावधानलाई प्रयोग नगर्ने बताएका छन् ।
प्रतिक्रिया