राजाले सोधे प्रेमविवाह कि मागी ?

राजाले सोधे प्रेमविवाह कि मागी ?


एमालेमा प्रवेश गरेर थप चर्चामा आएका नायक भुवन केसीसँग पूर्वराजा ज्ञानेन्द्रले दश मिनेट गुप्त वार्ता गर्नुभयो । मंगलबार साँझ नायक केसीकी एक मात्र छोरी काजोल केसीको वैवाहिक समारोहमा सिनामंगल पुग्नुभएका पूर्वराजाले भुवनसँगको भेटमा नेपाली चलचित्र क्षेत्रबारे चासो राख्नुभएको थियो ।
बा.१च ५६३४ को कालो कारमा कालो कोट, कालो जुत्ता र खैरो दौरासुरुवालमा विवाहस्थल पुग्नुभएका पूर्वराजालाई नायक केसी, उनका पिता मनमोहन केसी र भुवनकी पत्नी विजया केसीले स्वागत गरेका थिए । पूर्वराजाले करिब आधा घन्टा विवाह समारोहमा बिताउनुभएको थियो भने त्यो अवधिभर राष्ट्रिय गीतहरू बजाइएका थिए । भुवनको परिवारसँगको गोप्य भेटघाटमा पूर्वराजाले नेपाली चलचित्रको अवस्थालगायत दुलाहा-दुलहीको बारेमा पनि जिज्ञाशा राख्नुभएको थियो ।
आधा घन्टा बसाइको अवधिमा पूर्वराजाले भुवनको परिवारसँग बसेर एक कप कालो चिया पिउनुभएको थियो । भुवनले डिनर लिएर जान आग्रह गर्दा पूर्वराजाले ‘पछि खाउँला नि भुवनजी’ भन्नुभएको थियो ।
पूर्वराजा गेटमा आइपुग्दा भुवन परिवारले ताली बजाएर स्वागत गरेको थियो भने र्फकंदा पनि ताली बजाएर बिदाइ गरिएको थियो ।
दुलाहा र दुलहीसँग तस्बिर खिचाउने क्रममा पूर्वराजाले भुवनकी छोरी काजोललाई मागीविवाह वा प्रेमविवाह के हो भनेर जिज्ञाशा राख्नुभएको थियो । जवाफमा दुलही काजोलले प्रेमविवाह गरेको भन्ने जवाफ दिएकी थिइन् । पूर्वराजासँगको भेटघाटको क्रममा दुलही काजोलले आफूले टेभिभिजनमा मात्र देखेको र साँच्चिकै देख्न पाएकोमा गौरव लागेको कुरा बताएकी थिइन् । भारतीय नागरिक पुनित राय र काजोलबीच अमेरिका बसाइकै क्रममा प्रेम भएको थियो भने भुवनकै आग्रहअनुसार नेपालमा विवाह गर्ने निधो भएको थियो । विवाहमा सहभागी हुन भुवनकी पत्नी विजया केसी आइतबार मात्र नेपाल आएकी थिइन् भने विवाह समारोहमा भुवनकी पूर्वपत्नी सुष्मिता कतै देखिएकी थिइनन् तर उनको एक मात्र छोरा अनमोल केसी भने त्यहाँ उपस्थित थिए । अनमोल भुवनसँगै बस्दै आएका छन् । जानकारीमा आएअनुसार सुष्मिता आफ्नै जन्मघर दार्जिलिङमा रहेकी छिन् ।

फिल्म फ्लप भएपछि सन्न्यास
राम्रो काम देखाएर होइन केवल चाकडीको भरमा र अरू नायिकाहरूले छोडेपछि वा नभ्याएपछि सिनेमामा काम पाएकी हुन् सुमिना घिमिरेले । यसरी नायिका बनेकी हुन् उनी । नेपाली चलचित्रकर्ममा सुमिनाको खासै योगदान छैन । न त यो क्षेत्रप्रति उनले निरन्तरता दिँदै आएकी हुन् न त चलचित्र क्षेत्रप्रति लगाव नै छ उनको । चलचित्र क्षेत्रलाई कर्मथलो नभएर रहर र इच्छा पूरा गर्ने यिनै सुमिनाको बारेमा गत हप्ता एउटा हल्ला चल्यो- ‘सुमिनाले फिल्म क्षेत्रबाट सन्न्यास लिने रे ।’ एउटा फिल्मसम्बन्धी वेबसाइडले त राजेश हमाल र करिश्मा मानन्धरले सन्न्यास लिन लागेकोजस्तो गरेर ‘ब्रेकिङ न्युज’ को तरिकाले सुमिनाको बारेमा लेखिहाल्यो ।
नेपाली सिनेमा क्षेत्रलाई ठूलै योगदान दिएको र आफ्नो मूल्याङ्कन खासै नभएको जिकिर सुमिनाको छ । त्यसैले उनले सन्न्यास लिने घोषणा गरेकी हुन् रे ! करिब दुई वर्ष अगाडि मात्र सिनेमा क्षेत्रमा आएकी हुन् उनी । यसबीचमा पच्चीसौँ वर्ष सिनेमा क्षेत्रमा बिताएकी करिश्मा मानन्धरभन्दा ठूलो गफ दिने अनि यो गफलाई राम्रो स्थान दिने मिडिया देखेर पनि अन्य चलचित्रकर्मी हाँस्न थालेका छन् ।
यसबीचमा केही सिनेमा त उनले पाएकी नै हुन् । उनले अभिनय गरेको चलचित्र ‘दुलही’ पनि नराम्ररी फ्लप हुन पुग्यो । यो फ्लपपछि बजारमा सुमिनाको क्रेज ह्वात्तै घट्यो । प्रशान्त तामाङसँग उनले खेलेको किन मायामा नामक चलचित्रले पनि दर्शहरूको माया पाउन सकेन । यसरी एकपछि अर्को चलचित्र असफल भएपछि नायिकाको रूपमा लामो बाटो तय गर्न आफू असमर्थ हुने अवस्था देखेपछि सुमिनाले सन्न्यासको नयाँ आइडिया ल्याएको चर्चा पनि नचलेको होइन । भन्नेहरू भन्न थालेका छन् कि ‘फिल्म फ्लप भए अनि फिल्म नपाएपछि सन्न्यासको घोषणा गरिन् सुमिनाले ।’

गुरुआमा बन्दै सम्झना
लोक तथा दोहोरीगीतहरूको म्युजिक भिडियोमा त सम्झना बुढाथोकीलाई कसैले पनि उछिन्न सक्दैनन्, यो आकाट्य नै हो । सर्वाधिक भिडियोमा कुशल नृत्य प्रस्तुत गर्न सफल छिन् उनी । केही सिनेमामा नायिकाको रूपमा पनि काम गरेकी सम्झना यतिबेला भने सिनेमाभन्दा पनि भिडियोतिर बढी मात्रामा देखापर्ने गरेकी छिन् । ‘यसमा नै समय दिँदा अन्य विधातिर ध्यान दिन नपाएकी हुँ । म अहिले यतातिरै रमाइरहेकी छु,’ सम्झनाले भनिन् ।
त्यसो त सम्झनाका नृत्यको फ्यानहरूलाई खुसीको खबर पनि छ । त्यो के हो भने उनीजस्तै कुशल नृत्याङ्गना बन्ने वा उनकै प्रशिक्षणमा नृत्य सिक्ने हो भने अब सजिलो भएको छ । एक दशकभन्दा लामो समयदेखि नृत्य विधामा तन र मन सुम्पिएकी सम्झना अब गुरुआमा बनेर नृत्य शिष्यहरू जन्माउने सोचाइमा रहेकी छिन् । उनले आफ्नै पहल र लगानीमा काठमाडौंको बागबजारमा ग्रुप वन क्रियसन नामक नृत्य स्कुल सञ्चालनमा ल्याएकी छिन् । यसै साता कलाकारिता क्षेत्रका वरिष्ठ कलाकर्मीहरूको रामै्र जमघटका साथ सो स्कुलको सम्झनाले आमा-बुबाको हातबाट उद्घाटन पनि गराइन् । ‘मैले जानेको विधा यही हो । अब म अरू क्षेत्रमा जान पनि सक्दिनँ र गए तापनि टिक्न सक्दिनँ । त्यसैले आफ्नै विधाको स्कुल खोल्ने सोचका साथ यो नृत्य स्कुल खोलेकी हुँ,’ उनले बताइन् ।
सम्झनाका अनुसार यो स्कुलमा नृत्यका हरेक विधाको प्रशिक्षण दिइने गरिन्छ । लोक, आधुनिक तथा साल्साजस्ता नृत्यहरू सिकाइन्छ भने एरोविक पनि आफ्नो स्कुलले सिकाउने कुरा उनले बताइन् । ‘यो स्कुलमा गायन, संगीत र अभिनयको प्रशिक्षण पनि दिइनेछ । सम्झनाले अभिनय र गीत-संगीतको प्रशिक्षण चलेकै कलाकारहरूबाट दिइने कुरा सुनाइन् । उनका अनुसार ग्रुप वन क्रियसन कलाकारिता क्षेत्रमा लाग्न चाहनेहरूका लागि एउटा छानामुनि सबै कुरा प्राप्त हुने स्कुलका रूपमा स्थापित गर्ने उद्देश्यका साथ लागिपरेको छ ।

चलचित्र निर्माणमा सुनिता
रहरले होइन अब व्यावसायिक रूपमा नै अगाडि बढाउने सोचका साथ चलचित्र निर्माणतर्फ लागिपरेकी चलचित्र निर्मात्री हुन् सुनिता शर्मा ।
सुनिताले निर्माण गरेको पहिलो चलचित्र ‘तिमीले दिएको माया’ यतिबेला पोष्ट प्रोडक्सनमा व्यस्त छ । ‘हामी अब प्रदर्शनको तयारीमा जुटिसकेका छौँ । चैतको अन्तिम सातादेखि चलचित्र दर्शकमाझ आउने छ,’ निर्मात्री सुनिताले बताइन् । यो सिनेमाको कथा पनि सुनिताले नै लेखेकी हुन् ।
उनले आफू एउटा चलचित्र बनाएर भाग्ने निर्मात्री होइन भनिन् । उनको उद्देश्य छ, ‘यो चलचित्रबाट नाफा वा घाटा जे भए तापनि हामी अर्को चलचित्र सुरु गरिहाल्नेछौँ । वैशाखमा अर्को चलचित्रको काम सुरु हुनेछ हाम्रो,’ सुनिताको योजना छ । चलचित्र ‘तिमीले दिएको माया’ विशुद्ध रूपमा पारिवारिक र सामाजिक कथामाथि आधारित चलचित्र भएको कुरा बताइएको छ । चलचित्रमा कुनै कृत्रिम वा हुनै नसक्ने कुराहरू आफूले नराखेको दाबी चलचित्र निर्मात्री सुनिता शर्माको छ । ‘हरेक नेपाली’को घर अनि परिवार र समाजको कथा हो यो । ‘हामी हाम्रो परिवेशलाई छोडेर जान सक्दैनौँ । यस्तै कुरा उठाउन खोजिएको छ चलचित्र तिमीले दिएको मायामा,’ सुनिताले बेलिविस्तार लगाइन् ।
विजय केसङले यो चलचित्रको निर्देशन गरेका हुन् भने राज तिमिल्सिना, सुनिल थापा, निता ढुङ्गाना, सपना श्रेष्ठ, सुभाष मेचे र नयाँ प्रस्तुतिमा दीक्षा भण्डारीलगायतका कलाकारको यो चलचित्रमा अभिनय रहेको छ । महेश खड्काको संगीतले पनि चलचित्रलाई चर्चामा ल्याउने देखिन्छ ।

तारिणीप्रसादको अग्निबाटिका विमोचित
नेपालको राजनीतिक र साहित्यिक क्षेत्रमा समेत प्रसिद्ध व्यक्तित्व तारिणीप्रसाद कोइरालाको नयाँ उपन्यास अग्निबाटिका प्रकाशित भएको छ । सो उपन्यास तारिणी-रोशा स्मृति कोषद्वारा गत शुक्रबार -२४ गते) नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति वैरागी काइँलाले चाबहिलस्थित तारिणीप्रसाद कोइरालाको निवासमा आयोजित एक समारोहबीच विमोचन गर्नुभयो ।
२००३ सालमा विराटनगरबाट प्रारम्भ भएको मजदुर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तारिणीप्रसाद कोइरालाले २००७ सालको सशस्त्र आन्दोलनमा विराटनगर क्षेत्रको कमान्डिङ सम्हालेका थिए । त्यतिबेला उनले प्रजातन्त्र रेडियो स्थापना गरेर राणाविरुद्ध क्रान्तिलाई अझ सशक्त र उत्प्रेरित गर्ने काम पनि गरेका थिए । राजनीतिक क्षेत्रका अतिरिक्त यसअघि उनका साहित्यमा बालयौन मनोविज्ञानमा आधारित चर्चित उपन्यास र्सपदंश, रातो स्वेटर -कथासङ्ग्रह), फालिएको सामान -उपन्यास) र नैनी -महाकाव्य) समेत प्रकाशित भइसकेका छन् । कोइरालाको नयाँ उपन्यास ‘अग्निबाटिका’ वि.सं. २०५६ मा प्रकाशित नैनी महाकाव्यपछि प्रकाशित कृति हो ।
उपन्यासकार डा. ध्रुवचन्द्र गौतमको सभापतित्वमा भएको विमोचन कार्यक्रममा कुलपति काइँलाले तारिणीप्रसादका विषयमा विभिन्न लेखकले लेखेका लेख-रचनाहरूको सङ्ग्रह ‘एक दृष्टि : अनेक स्मृति ग्रन्थ’को पनि विमोचन गर्नुभयो भने उपन्यासकार डा. गौतमले विभिन्न पत्रपत्रिकामा प्रकाशित ज्योति कोइरालाका लेखहरूको सङ्ग्रह ‘भावनाको संगालो’को विमोचन गर्नुभयो । उक्त तीन पुस्तक कोषद्वारा प्रकाशित गरिएका हुन् ।
समारोहमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले तारिणीको र्सपदंश र अग्निबाटिको पाण्डुलिपि पढेको जानकारी दिँदै सो पढेपछि तारिणीको साहित्य शिल्पी उच्चकोटिको रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरी, राससका प्रधान सम्पादक एवम् साहित्यकार रमेश तुफान, शान्ता घिमिरे, डा. भोला रिजाल र लक्ष्मण गौतमले पनि विमोचित पुस्तकका विषयमा प्रकाश पार्नुभएको थियो ।

पेरिसमा नेपाल प्रवर्द्धन साँझ
नेपालको पर्यटन प्रवर्द्धन कार्यलाई जारी राख्दै नेपाली राजदूतावास, पेरिस तथा नेपाल पर्यटन बोर्ड काठमाडौंको संयुक्त आयोजनामा फ्रान्समा गत शुक्रबार एक भव्य कार्यक्रम सम्पन्न भएको छ । फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा मुख्य अतिथिको रूपमा फ्रान्सको परराष्ट्र तथा युरोपियन मामिला मन्त्रालयका एसिया विभाग प्रमुख भेरोनिक रोजर ल्याकेनका साथमा परराष्ट्रका अन्य अधिकृतसमेत उपस्थित थिए ।
कार्यक्रममा भारतका राजदूत राकेश सुद, अमेरिका, जापान, पाकिस्तान, मलेसिया, बंगलादेश, लाओस, थाइल्यान्ड, र्टर्की, होन्डुरस, म्यादगास्कर आदि मुलुकका युनेस्कोका लागि राजदूत तथा अन्य मुलुकहरूका प्रतिनिधिहरू, नेपालका लागि फ्रान्सका पूर्वराजदूतहरू, युनेस्कोअर्न्तर्गत रहेको विश्व सम्पदा समितिका निर्देशक, प्रोफेसरहरू, डाक्टर, ट्राभल एजेन्ट्स, टुर अपरेटर्स, ट्राभल पत्रकार, पेन्टर, व्यापारी, नेपाली विद्यार्थीलगायतको उपस्थिति थियो ।
सो अवसरमा फ्रेन्च भाषामा स्वागत मन्तव्य दिँदै राजदूत श्रेष्ठले हिमाल, कला, संस्कृति, जीवन, रहनसहन, नदीनाला, पहाड, कन्दरा तथा प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण नेपाल एक विविधताले भरिएको सुन्दर मुलुक भएको उल्लेख गर्नुभयो । नेपाल भगवान् गौतम बुद्धको जन्मस्थल तथा विश्वको एकमात्र जीवित देवी कुमारीको पनि घर भएको तथ्यमाथि प्रकाश पार्दै उहाँले नेपाल अत्युत्तम कलाकौशलको एक जीवित म्युजियम भएको बताउँदा उपस्थित विदेशी अतिथिले चाख मानेर सुनेका थिए । राजदूत श्रेष्ठले आफूले नेपाल पर्यटन वर्ष २०११ को सिलसिलामा फ्रान्सका विभिन्न भागको भ्रमण गर्दा नेपाल र नेपालीलाई माया गर्ने फ्रेन्चहरू प्रशस्तै भेटेर आफूलाई गर्व लागेको खुलासा गर्दै दुई देशबीचको सम्बन्धलाई बढावा दिन आ-आफ्नो किसिमले कार्यरत सबैलाई धन्यवाद दिनुभयो ।
प्रमुख अतिथि भेरोनिक रोजरले फ्रान्स तथा नेपालबीच राम्रो सम्बन्ध रहिआएको बताउँदै फ्रान्समा नेपालका हिमाल मनपराउने मानिस प्रशस्त भएको स्मरण गर्नुभयो । उहाँले फ्रान्सले नेपाललाई युरोपियन युनियनमार्फत सहयोग दिँदै आएको र आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट निर्मित ‘नेपाल नेचुरल्ली ब्युटिफुल ? वन्स इज नट इनफ’ नामक वृत्तचित्र प्रदर्शन गरेकोमा सबैले सराहना गरेका थिए । कार्यक्रममा राखिएका नेपाली निकासीयोग्य वस्तुहरू चाँदीका सामान, पश्मिना, चियाकफी, धातुका मूर्ति, काठका कलात्मक झ्यालहरू प्रदर्शनमा राखिएकामा पाहुनाहरूले रुचिपूर्वक हेरेका थिए । कार्यक्रममा सुश्री प्रशंसा केसी र विमल बसेलले विभिन्न नेपाली नाच प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सुश्री बारबरा कुटेरियरले गर्नुभएको थियो ।