रसियन राष्ट्रपति भ्लादिमीर पुटिनका विरोधि एवम् रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जर्मनीबाट रुस पुगेलगत्तै पक्राउ गरिएको छ । उपचारको सिलसिलामा पाँच महिना जर्मनीमा बिताइ उनी आइतबार मस्को फर्किएका थिए । गत वर्ष नर्व एजेन्टको हमलाको शिकार भएका उनी मृत्युको मुखैमा पुगेर बचेका थिए ।
बर्लिनबाट मस्को पुगेका ४४ वर्षीय नाभाल्नी सवार फ्लाइटलाई मस्कोको एक एयरपोर्टबाट अर्को विमानस्थलमा उतारिएको थियो । भीडबाट अलग्याउनका लागि त्यस्तो गरिएको बताइएको छ ।
नाभाल्नीको हत्या गर्ने प्रयास भएको र त्यसमा रुसी सरकारकै हात रहेको धेरैले अनुमान लगाउँदै आएका छन्, तर रुसको सरकारले भने यस्तो आरोप खारेज गर्दै आएको छ ।
आइतबार पक्राउ परेलगत्तै आफ्ना समर्थकहरूलाई प्रतिक्रिया दिँदै नाभाल्नीले भनेका छन्– ‘मलाई थाहा छ कि म सही छु । मलाई कुनै कुराको पनि डर छैन । मेराविरुद्ध लगाइएका सबै आरोपहरू झुठा हुन् ।’
ज्ञातव्य छ, गत वर्ष अगस्टमा साइबेरियामा एक फ्लाइटकै दौरान नाभाल्नी बेहोस भएका थिए । पछि उनलाई खानामा विष दिइएको पत्ता लागेको थियो । राष्ट्रपति पुटिनको आदेशमा विष दिइएको आरोप लगाइए पनि सरकारले आरोपको खण्डन गर्दै आएको छ । उनको उपचार जर्मनीमा भएको थियो भने अहिले उनी पूरै स्वस्थ रहेका बताइएको छ ।
प्रतिक्रिया