‘केपीलाई पार्टीको साधारण सदस्यबाट हटाइएको’ दाहाल-नेपाल समूहद्वारा जानकारी !

‘केपीलाई पार्टीको साधारण सदस्यबाट हटाइएको’ दाहाल-नेपाल समूहद्वारा जानकारी !



नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको जनाएको छ । आइतबार पेरिसडाडामा बसेको सो समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा दाहाल–नेपालका प्रवक्ता नारायणकाजीश्रेष्ठले भने– ‘पार्टी, देश र जनताविरुद्ध गतिविधि गरेको पाइएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी आजको बैठकले कारवाही गरेको छ ।’

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार संविधानविपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका कार्यक्रम र विशेष गरी यही माघ ९ गते काठमाडौंमा आयोजित जनसभा सफल भएको निष्कर्ष निकालेको छ ।

बैठकमा संयुक्त आन्दोलनका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग भएको छलफलका बारेमा पार्टी अध्यक्ष एवम् सो कामका लागि जिम्मेवारी पाएका नेताले जानकारी गराएको उनले बताए ।

स्थायी कमिटीको बैठकमा सम्बन्धित प्रदेशका प्रमुख एवम् स्थायी कमिटी सदस्यले आ–आफ्ना प्रदेशको समग्र पार्टी, जनवर्गीय सङ्गठन एवम् पछिल्ला जनसङ्घर्षका कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले केन्द्रीय कार्यालय सचिवमा नेता गङ्गालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्का एक उपसचिवसमेत नियुक्त गरिने जनाइएको छ । पार्टीको अनुशासन तथा विधिलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ ।