फेरि कहिल्यै यस्तो नहोस-वसन्तराज कुँवर

फेरि कहिल्यै यस्तो नहोस-वसन्तराज कुँवर


सूर्यनाथको समयको अख्तियारले बलजफ्ती लगाएको भ्रष्टाचारको मुद्दाबाट पूर्वआईजीपी प्रदीपशमशेरलाई विशेष अदालतले सफाइ दिएको समाचार त्यस दिन जब मैले सुनेँ, मेरो मनमा शाही सरकारको पालामा भएका क्रियाकलापहरूको झल्को उरि्लयो । विभिन्न नेतादेखि अनेकौँ प्रजातन्त्रवादी कर्मचारीहरूलाई ‘अख्तियारको दुरुपयोग गर्‍यो’ भन्दै गोप्य सम्पत्ति आयोग बनाएर एक-एक गरी भ्रष्टचारको मुद्दामा जेल हाल्ने रणनीति बनाउने ग्रान्ड डिजाइनरहरूका अनुहार मेरा वरपर फन्फन्ती घुम्न थाले । ग्रान्ड डिजाइनरहरूमा तत्कालीन राजादेखि पशुपतिभक्त महर्जन, निरञ्जन थापा, रमेशनाथ पाण्डे, तुल्सी गिरी, शरदचन्द्र शाह र तत्कालीन सेना तथा प्रहरी -राअवि समेत)का अनेक उच्च अधिकृतहरूको प्रत्यक्ष संलग्नता थियो । त्यो भयानक षड्यन्त्रलाई सफल पार्ने गोप्य जिम्मेवारी सूर्यनाथ उपाध्याय र भक्तबहादुर कोइरालालाई दिइएको थियो । त्यतिखेर त्यसरी राजा ज्ञानेन्द्रले आफूलाई शक्तिशाली बनाउन गरेको योजना धर्मको रक्षा गर्ने भगवान्का लागि समेत सह्य हुने खालको थिएन । हेर्दाहेर्दै ज्ञानेन्द्रको गद्दी नै गयो भने अरू त्यसबेलाका मतियारहरू अहिले कुन दुलामा छन्, यो नेपाली नागरिकलाई थाहा छैन । भनिन्छ, भगवान्को घरमा ‘देर’ छ ‘अँधेर’ छैन । जब मैले सोझा र इमान्दार आईजीपी प्रदीपशमशेर राणामाथि दर्ुर्नियतवश लगाइएका मुद्दा असफल भएको थाहा पाएँ त्यसपछि विशेष अदालतमाथिको मेरो विश्वास अझै माथि उठ्यो । प्रदीपशमशेर राणाको बारेमा नजिकबाट सबै कुरा थाहा पाउने प्रहरी अधिकृतहरूमध्येको एक म पनि भएकोले वास्तवमा उनीमाथि अन्याय भइरहेको मलाई प्रस्टै थाहा थियो, उनीमाथि झुटो मुद्दा लगाइएको थियो ।
हुन सक्छ अख्तियारमा काम गर्ने सूर्यनाथकालीन थुप्रै कर्मचारी अहिले त्यहाँ छैनन् होला । हुन सक्छ विशेष अदालतमा त्यस समय सूर्यनाथ उपाध्यायले झुटा मुद्दा लगाउन दरबारदेखि पैसा बाँडेर वा भ्रम फैलाएर न्यायाधीशविरुद्ध दबाब दिन प्रेसलाई कसरी दुरुपयोग गर्थे भन्ने अनुभव गरेका न्यायमर्ूर्तिहरू अहिले विशेष अदालतमा छैनन् होला । हुन सक्छ शाही शासनबाट अमेरिकाको राजदूत बनाइदिने लोभमा परी त्यस समय सूर्यनाथले प्रजातन्त्र मास्न जल्लादको झैँ काम गरेको वास्तविकता नजिकबाट देख्ने, बुझ्ने आँखाहरू अहिले सम्बन्धित ठाउँमा छैनन् होला । तर, यी सब घटनाको एक जिउँदो साक्षी म छु । तत्कालीन अवस्थामा म बागमती अञ्चलको प्रहरी प्रमुख भएर मात्र होइन आफैंमाथि पनि सूर्यनाथ र तत्कालीन सरकारको दुरासययुक्त कारबाहीहरू बज्रिएका कारण सूर्यनाथलाई सिखण्डी बनाएर त्यतिबेला मञ्चन गरिएका नाटकहरूबारे मलाई राम्ररी थाहा छ र अदालतबाट प्रदीपशमशेरजस्ता सोझा व्यक्तिले सफाइ पाएको सन्दर्भले पङ्क्तिकारलाई खुसी तुल्याएको छ ।
प्रहरीमा म अलिक खरो प्रकारको अधिकृत थिएँ । सधैं मलाई जनताको सुरक्षाको स्तर बढाउन नयाँनयाँ काम गर्न मन लाग्थ्यो । सानै पदमा भए पनि सधैं नयाँनयाँ योजना लिएर आईजीपीहरूकहाँ जान्थेँ र चित्त नबुझेको कुरो सीधै भनिदिन्थेँ । स्पष्ट बोल्ने बानीले मलाई सङ्कटमा पनि पारिरहन्थ्यो । जब मध्यपश्चिम क्षेत्रमा भीषण माओवादी आक्रमण भयो एक्कासि गृहमन्त्री गोविन्दराज जोशी र आईजीपी अच्यूत खरेल हटाइए र प्रदीपशमशेर राणा आईजी भए । एक्कासि आईजी भएकाले उनले अधिकृतहरूको भेला राखी चार बुँदे आफ्नो योजना पेस गरे । जसमा उनले आफ्नो उद्देश्य प्रहरीभित्र भ्रष्टचारलाई निरुत्साहित गर्ने, मानवअधिकारको सुरक्षालाई अत्यधिक महत्त्व दिने, प्रहरीलाई व्यावसायिक बनाउन तालिमहरूमा जोड दिने आदि थिए । म त्यस समयमा एसपी थिएँ । मलाई उनको उद्देश्य मन पर्‍यो तर म प्रदीपशमशेरको नजिकको प्रहरी अधिकृतमा पर्दैनथेँ । एसएसपी भएपछि एक दिन मलाई उहाँले बोलाई आफ्नो कार्यालयको पीए बनाउन लागेको बताउनुभयो । मलाई त्यस समय खुसी नै लाग्यो किनकि कुनै आईजीपीले मलाई सबैभन्दा महत्त्वपूर्णमध्ये एक जिम्मेवारी दिँदै थिए । म त्यस समय तालिम केन्द्रमा प्रशिक्षक थिएँ । आईजीपीको कार्यालयको सचिवजस्तो भएपछि मैले उहाँलाई नजिकबाट बुझ्ने मौका पाएँ । साधारणभन्दा साधारण मान्छेहरू आए पनि सम्मानपूर्वक कुरा गर्ने, भेट्ने । कुनै पनि तल्ला अधिकृतसँग हाँसेरै कुरा गर्ने । पैसा कमाउने कुनै उद्देश्य नराख्ने, सकेसम्म सबैलाई नबिगार्ने । मैले उहाँलाई यस्तो अधिकृतहरूको रूपमा देखेँ । हरेक आईजीपी हुनेहरूको आफ्ना प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा हुनु स्वाभाविकै हो तर मैले देखेको प्रदीपशमशेर तल्ला अधिकृत तथा जवानहरूका लागि सरल मिजासका इमान्दार आईजीपी नै थिए ।
जब म मुख्य पीए भएर आइजी कार्यालय पुगेँ त्यसलाई मैले भगवान्ले आफूलाई दिएको अवसर ठानी त्यो अवसरलाई प्रहरी सङ्गठनलाई जनताको नजर माथि उठाउने कुरामा सदुपयोग गर्ने योजना बनाएँ । यद्यपि मेरो पद सानै थियो तर पनि मैले उहाँलाई सक्नेजति राम्रा कामहरू गर्ने सल्लाह दिन थालेँ । नेपालमा छिटो-छरितो सेवा दिने कन्ट्रोल रुम पद्धतिको स्थापना मेरो अनुरोधमा तत्कालै आईजी राणाले देशभरि लगाइदिनुभयो । उहाँको कार्यकालमा आसरा सुधार केन्द्रको भवन ठूलो पारिदिनुभयो । तराईलाई सेवा दिन रौतहटमा प्रहरी स्कुल स्थापना गरिदिनुभयो । काठमाडौंको सामाखुसीमा प्रहरीहरूका बालबालिकाका लागि एक स्कुल स्थापना गरिदिनुभयो । नेपालगञ्जमा प्रहरी अस्पतालको स्थापना गरिदिनुभयो । सबैभन्दा ठूलो कुरा प्रहरी कल्याण कोषलाई बढाउन उहाँले स्पोर्टस् फन्डबाट प्राप्त रकमबाट काटिने रकममध्ये ५० प्रतिशत कल्याण कोषमा जम्मा गरिदिनुभयो । वारि्षक एक करोड नौ लाख कल्याण कोषमा थप जम्मा हुन थाल्यो ।
प्रहरीमा स्पोर्टस् फन्ड भन्ने हुन्थ्यो जसमा सबै प्रहरी कर्मचारीले एक प्रतिशत तलबको रकम दिनर्ुपर्दथ्यो । त्यसबखत १ प्रतिशत काट्दा पनि वर्षमा झन्डै दुई करोड उठ्थ्यो । त्यो रकम जिल्ला क्षेत्रले केही पाए पनि अधिकांश आईजीहरूको तजविजमा खर्च हुन्थ्यो । प्रदीपशमशेर नै यस्ता पहिलो आईजीपी थिए, सायद जसले यसबाट ५० प्रतिशत कल्याण कोषमा राखिदिए । यस्तै पैसाबाट महेन्द्र पुलिस क्लब हाताभित्र स्विमिङ पुल र हेल्थक्लब बनेको हो । त्यस क्लबबाट प्रहरी कल्याणका लागि नियमित आम्दानी हुने गर्छ । यही कल्याणको रकम पछि श्यामभक्त थापा र ओमविक्रम राणाका लागि व्यक्तिगत भोजन गर्ने ठाउँ बन्यो । म करिब ६ महिना प्रदीपशमशेरका पीए भएर रहँे । ती व्यक्ति वास्तवमै भ्रष्टाचारी थिएनन् । मैले नजिकबाट ध्रुव प्रधान र प्रदीपशमशेर राणालाई हेर्ने/बुझ्ने मौका पाएँ । ध्रुव प्रधानमा योजना गर्न सक्ने विशेष खुवी थियो भने प्रदीपशमशेरमा सरल रूपमा जनसमक्ष प्रस्तुत हुने अद्वितीय खुवी थियो ।
एक दिन साँझको कुरो हो, प्रदीपशमशेर सायद राजदरबारबाट फर्कनुभएको थियो । उहाँलाई मैले निवासमा दिनभरिको कागजपत्रको जानकारी दिएँ । राजा ज्ञानेन्द्रसँग सायद उहाँको त्यस दिन भेट भएको थियो होला । उहाँले मलाई कागज जाँच गर्दै बीचैमा भन्नुभयो, ‘वसन्त, राजाको मनसाय सम्पूर्ण शक्ति आफ्नो हातमा लिने छ, सायद सेनाले उहाँलाई बढी नै उक्साएजस्तो छ, मलाई के हुन्छ भनेर सोधियो, तर मैले त्यसरी शक्ति हातमा लिनु हुँदैन भनिदिएँ ।’ म चुपचाप सुनिरहेँ । त्यत्तिकैमा उहाँले मलाई हेरेर सोध्नुभयो, ‘भनेको ठीक होइन
त -‘ उहाँको प्रश्नमा मैले भने, ‘बिलकुलै ठीक हो सर, जबर्जस्ती लिएको शासन अडाउनै सकिँदैन तर जे हजुरले भन्नुभयो सायद त्यो दरबारलाई मन नपर्न सक्छ, किनकि उनीहरूलाई जे पनि हुन्छ भन्ने जवाफ मन पर्ने गर्दछ ।’
त्यस घटनापछि मलाई प्रदीपशमशेरमाथि राजा ज्ञानेन्द्र र उनलाई उचाल्नेहरूको बकदृष्टि सुरु भएजस्तो मलाई लाग्यो । राजा शक्तिमा आउनेबित्तिकै षड्यन्त्रकारी रूपमा प्रदिपशमशेरलाई पनि पूरा समय जागिर खान नदिई अवकाश गराइयो र उनीमाथि भ्रष्टारको मुद्दा पनि लगाइयो । मसमेत अरू अधिकृतहरू जो प्रदीपशमशेरको पीए भएर काम गरेका थिए हामीहरूमाथि पनि झुटो मुद्दा लगाइयो । जुन दिन प्रदीपशमशेरलाई मैले अख्तियारमा बोलाइएको देखेँ, मेरा आँखा रसाए । जुन आईजीले भ्रष्टाचारविरुद्ध अभियान चाले, छोटो समयमा स्कुल, अस्पताल र धेरै कल्याणकारी काम गरे, तिनै आईजीलाई दरबारले झुटा लाञ्छना लगाई बद्नाम गर्‍यो । यो काम राजा स्वयम्को चाहनामा भयो या उनलाई आसेपासेले उक्साए, जे भए पनि समबन्धितहरू त्यतिबेलै पापको भागीदारचाहिँ भए भन्ने धारणा मैले बनाएँ । ढिलै भए पनि विशेष अदालतले उहाँलाई न्याय दियो ।
यसरी सूर्यनाथ उपाध्यायको पालामा गरिएका षड्यन्त्रहरूले अख्तियारलाई अझै षड्यन्त्रकारी थलोकै रूपमा हेर्न बाध्य गराएको अनुभूति हुन्छ । आशा छ, नयाँ अख्तियारले प्रदीपशमशेरहरूमाथि गरेको षड्यन्त्रहरूलाई साथ दिएर अनाहकमा दुःख दिने काम गर्ने छैन । आज प्रदीपशमशेरले सफाइ पाए तर झुटो मुद्दा खेप्ने क्रममा उनले भोगेका र उनका परिवारले भोगेका पीडा, तनाव, आत्माग्लानि र हानिको क्षतिपर्ूर्ति कसले दिने – हामी के देख्छौँ भने भ्रष्टाचारविरुद्ध काम गर्ने कुनै पनि जिम्मेवार निकायले कुनै पनि कर्मचारी वा परियोजनाविरुद्ध एथेष्ट प्रमाण नभई मुद्दा चलाउँदैन, किनकि त्यो मुद्दाले पूरै मुलुकको विकास र जनताको कर्मचारीप्रतिको आस्थामा नकारात्मक असर गर्छ । कर्मचारीप्रति विश्वास घट्नु भनेको राज्यप्रतिको विश्वास घट्नु पनि हो । तर, अख्तियार प्रमुखको पद सूर्यनाथहरूजस्ताका लागि बाँदरको हातमा नरिवलसरह थियो । धेरै देशहरूले मुद्दा असफल भएपछि क्षतिपर्ूर्ति तिर्छ । प्रदीपशमशेरको क्षतिपूर्ति कसले तिर्ने । यो घटना सम्झँदा मेरो मनमा अझै पनि सूर्यनाथप्रति आक्रोश जन्मन्छ । नयाँ अख्तियारले उनको पालामा जस्तो पापको भागीदार बन्नुपर्ने कामहरू नगरोस् । त्यतिबेला आईजीपीहरूमाथि पूर्वाग्रही ढङ्गले प्रजातन्त्रवादी पार्टीहरूलाई सहयोग गर्‍यो भन्ने आरोपमै मुद्दा लगाइएको थियो । उनीहरूलाई मुद्दा लगाउन तत्कालीन सेनाका उच्च अधिकृतहरूको पनि भूमिका थियो, किनकि उनीहरू आफूलाई राजाको नजिक र पुलिसलाई पार्टीको नजिक ठान्थे । जे होस्, फेरि पनि प्रदीपशमशेरले न्याय पाएकोमा पङ्क्तिकारलाई व्यक्तिगत रूपमा खुसी लागेको छ र यसैगरी खुसी हुने न्यायप्रेमी अरू पनि प्रशस्तै होलान् भन्ने लाग्छ । यो मुलुकमा फेरि यस्तो अन्याय कसैमाथि कहिल्यै नहोस् ।