आन्दोलनकारी पक्षविरुद्ध आक्रामक बन्दै सत्ताधारी नेकपा

आन्दोलनकारी पक्षविरुद्ध आक्रामक बन्दै सत्ताधारी नेकपा



उपप्रधानमन्त्री पोखरेलले भने- ‘प्रचण्डजी, चुनाव जित्नु छ भने पार्टीमा आउनुस्’

हेमशंकर सिंह, राजविराज

प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रेका राजनीतिकदल एवम् अन्य पक्षविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा प्रदेश २ मा आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।

प्रदेश २ का जिल्ला सदरमुकामसहित स्थानीय तहमा समेत प्रायजसो बैठक र सभाको आयोजना गरी प्रधानमन्त्रीको कदमको पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन् । ती बैठक तथा सभामा भने नेकपाका नेताहरुले नेकपा दाहाल नेपाल खेमाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालको उछित्तो काड्ने गरेका छन् ।

प्रचण्ड र नेपाललाई षडयन्त्रकारी, अस्थिरतावादी र पदलोलुपपको संज्ञा दिँदै तिनीहरुकै कारण देश ताजा जनादेशका लागि निर्वाचनमा होमिएको दाबी सत्तापक्षको रहँदै आएको छ । प्रदेश २ मा स्थानीय तहदेखि प्रदेश सरकारसम्म वर्चस्वमा रहेको जनता समाजवादी पार्टीलाई भ्रष्टाचारीको संज्ञा दिँदै मधेशको पक्षमा नेकपा र ओली मात्र काम गरिरहेको दाबी गर्दै आगामी निर्वाचनमा नेकपालाई प्रदेश २ मा पहिलो पार्टी बनाउनुपर्ने तर्क अघि सार्न थालिएको छ ।

सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलसहित संघीय सरकारमा प्रदेश २ बाट सहभागी तीन जना मन्त्रीको उपस्थितीमा मंगलबार राजविराजमा आयोजित आमसभामा पनि वक्ताहरुले सत्तास्वार्थका कारण प्रचण्डले सहमतिविपरीत माधव नेपालसँग मिलेर ‘कु’ गर्न खोजेको आरोप लगाए ।

प्रचण्ड र नेपाललाई सत्ता र पदको भोकोको संज्ञा दिँदै उनीहरुले प्रधानमन्त्री ओलीलाई असफल बनाउन पार्टी एकीकरणकै दिनदेखि षडयन्त्रमा लागेको आरोप लगाए । प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोप फिर्ता लिएर चुनावमा सहभागी हुन उनीहरुले प्रचण्ड र नेपाललाई सुझाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीमाथि लगाइएको आरोप फिर्ता लिएर चुनावमा भाग लिए प्रचण्ड र नेपालको स्थान पार्टीमा सुरक्षित रहने जिकिर गरे ।

ओली नेतृत्वको नेकपा आधिकारिक रहेको दाबी गर्दै उनले भने, ‘ओलीकै हस्ताक्षरमा टिकट वितरण हुनेछ, प्रचण्डजी चुनाव जित्नु छ भने पार्टीमा आउनुस् ।’ एउटै चिन्हबाट चुनाव लड्ने सहमति गरिसकेको प्रचण्ड चौविस घण्टा नबित्दै पूरा कार्यकालका लागि प्रधानमन्त्री बन्न तत्कालीन एमालेसँग चुनावी तालमेल गरेर पनि नेपाली कांग्रेस र मधेशवादी दलसँग अलग्गै साँठगाँठ गरी गठबन्धनलाई हराउन षडयन्त्रमा लागेको आरोपसमेत उनले लगाए ।

यसैगरी शहरी विकास मन्त्री प्रभु साहले तत्कालिन माओवादीले बोकेको एजेण्डा आफ्नो स्वार्थपुर्तिका लागि बिक्री गरेको आरोप लगाउँदै माओवादीको भविष्य कम्युनिष्ट पार्टीकै एकतामा रहेको दाबी गरे ।

जनमुक्ति सेनाको तलव लुट्नेहरु असली माओवादी हुन नसक्ने भन्दै उनले घाइते जनमुक्ति सेनाको उपचार गर्ने निर्णय गरेर प्रधानमन्त्री ओलीले उनीहरुप्रति सम्मान प्रकट गरेको तर्क गरे ।

कानुनमन्त्री लीलानाथ श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरे । उनले भने, ‘अहिले न कसलाई थुनामा राखिएको छ, न त कुनै अधिकार नै खोसिएको छ, कसरी प्रतिगमन भयो ?’

प्रधानमन्त्री ओलीलाई साहासिक राष्ट्रवादी नेताको संज्ञा दिँदै मन्त्री श्रेष्ठले भारतको पटक पटकको नाकाबन्दीका कारण पारबहन सन्धी गर्नु परेको खुलासा गरे । भारतको डरका कारण विगतमा सत्ताको नेतृत्वमा रहेको कांग्रेसले चीनसँग पारबहन सन्धी नगरी देशलाई भारतमाथि आश्रित राखेको आरोपसमेत लगाए ।

महिला बालबालिका मन्त्री जुली महतोले प्रतिनिधि सभाको विघटन प्रधानमन्त्रीको सही कदम भएको भन्दै निर्वाचनले नै देशको राजनितिक भविष्य तय गर्ने र अराजक भाषा बोल्ने नेताहरुलाई नेपाली जनताले परास्त गर्ने दाबी गरे ।

कार्यक्रमका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र सत्यनारायण मण्डल, पुर्वमन्त्री ज्वाला साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल सहितका वक्ताहरुले राष्ट्रियताको पक्षमा उभिएका प्रधानमन्त्री ओलीलाई नै आगामी पाँच वर्षका लागि प्रधानमन्त्री चुन्ने दाबी गरे ।