संयुक्त राष्ट्रसंघका ७१ वर्षीय महासचिव गुटेर्रेसले लिए कोरोनाको खोप

संयुक्त राष्ट्रसंघका ७१ वर्षीय महासचिव गुटेर्रेसले लिए कोरोनाको खोप



खोप सबैका लागि उपलब्ध होस् : गुटेर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा बिहीबार पनि उनले दोहोर्‍याएका हुन् ।

उनले भनेका छन्– सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ । अबका कैयौँ महिनासम्म पनि यो प्राथमिकतामा नै पर्नुपर्छ कि यो कोभिड विरुद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्छ र आगामी दिनहरुमा खाँचो परेका नागरिकले सहजै र सुलभ रुपमा यो खोप प्राप्त गर्न पाउनुपर्छ ।

विश्वका केही सीमित देशका हातमा मात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको छ भन्दै महासचिव गुटेर्रेसले अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्ने बताए ।

उनका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्ने देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने सुझाव उनले दिए ।

यसै क्रममा गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो कुराको जानकारी गराएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस् भनी कामना गर्दछौँ– गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ ।