फार्कका आठ वरिष्ठ सदस्यहरु युद्ध अपराधको घटनामा दोषी ठहर

फार्कका आठ वरिष्ठ सदस्यहरु युद्ध अपराधको घटनामा दोषी ठहर



कोलम्बियाको एक उच्च अदालतले फार्क विद्रोही आन्दोलनको नेतृत्व गरिरहेका आठ जना वरिष्ठ सदस्यमाथि युद्ध अपराधको घटनामा दोषी ठहर गरेको छ । कोलम्बियामा दशकौँ लामो चलेको सशस्त्र गृहयुद्धका क्रममा २१ हजारभन्दा बढी व्यक्तिको अपहरणमा उनीहरुको संलग्नता रहेको अदालतको भनाई छ ।

दोषी ठहर गरिएका आठ जना फार्कको सचिवालयका सदस्य छन् र यो फार्कको सबैभन्दा माथिल्लो निर्णायक निकाय हो । झण्डै ५० वर्षदेखि जारी रक्तपातपूर्ण फार्क आन्दोलन सन् २०१६ मा शान्ति सम्झौता भएपश्चात् फार्क नै विघटन भएको थियो । फार्कको राजनीतिक दल कमन पिपुल्स पार्टीका हाल प्रमुख रहनु भएका रोड्रिगो लोन्डोनोको नाम समेत युद्ध अपराधमा समावेश छ ।

साथै यस सूचीमा शान्ति सम्झौता बमोजिम फार्कका नेताहरुलाई संसदका लागि छुट्याइएका १० स्थानमध्ये दुई स्थानमा रहेका पाब्लो काटाटुम्बो र जुलियान गाल्लो पनि समावेश हुनुहुन्छ । फार्कका अर्का उच्च नेता अर्मिलो काब्रेरामाथि पनि युद्ध अपराधीको सूचीमा नाम थियो, तर उनको गत बुधबार निधन भएको छ ।

शान्तिसम्बन्धी विषय हेर्ने गरी गठित विशेष अदालतका न्यायाधीश जुलिएटा लेमाइटरले कुनै व्यक्तिको स्वतन्त्रता हनन् गर्नु र कसैलाई मुक्त गर्नुअघि विभिन्न शर्त राख्नु युद्ध अपराध हो भनेका छन् । यो अदालतले खासगरी फार्कका सदस्यको मुद्दा सुनुवाई गर्न र द्वन्द्वकालीन स्थितिमा भएका अपराधको अनुसन्धान गर्न गठन भएको हो ।

साथै अदालतले मानवता विरुद्धको अपराधका बारेमा पनि सुनुवाई गरेको छ भने हत्या, यातना, अमानवीय व्यवहार, व्यक्तिगत प्रतिष्ठामा आक्रमण, यौन हिंसा र जबर्जस्ती बिस्थापन जस्ता व्यवहारका बारेमा पनि अदालतले सुनुवाई गरेको थियो । यो अदालत सन् २०१७ मा गठन भएको थियो ।

कमन पिपुल्स पार्टीले भने विगतमा भएका घटनाप्रति क्षमायाचना गरिसकेको एएफपीले जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति इभान डुकुले देशभित्र कुनै पनि व्यक्ति समान रहेका र कसैलाई पीडा हुने तथा कोही पीडक स्वतन्त्र एवं खुलेआम घुम्ने परिस्थिति स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।