सेलिब्रेटीहरूको आँशुमा युटुबरको खुशीयाली !

सेलिब्रेटीहरूको आँशुमा युटुबरको खुशीयाली !


  • राजन घिमिरे

दुःख, पीडा, संघर्षको कथा, ब्यथा र दुःखदायी यात्रा कसको पो छैन र ? त्यो पनि नेपालमा.., र हामी नेपालीहरूसँग ! हरेक क्षेत्र, विधा, तह र तप्काका ब्यक्तिको आ–आफ्नै पीडा, ब्यथा र दुःखदायी सन्दर्भहरू छन् ।

सार्वजनिक व्यक्तित्वको रूपमा एउटा उचाई छोएपछि या सेलिब्रिटीको दुःखलाग्दो यात्रा र संघर्षपछि आफ्ना विगतहरू कोट्याउँदा वा विगतका बारेमा बखान गर्दा गर्वानुभूति होस्, त्यस्ता सन्दर्भ अरुका लागि पनि प्रेरित गर्ने प्रकारको होस्, अनि पो मज्जा आउँछ । तर, केही समययता आएर आफ्नो क्षेत्र वा विधामा लाग्दा पाएको दुःख र संघर्षको बारेमा नभइ पारिवारिक अवस्था, उपस्थिति र नाजुक स्थितिको बारेमा सेलिब्रेटीहरूले नै रोइ–रोइ सुनाउन थालेपछि अन्ततः यसले सेलिब्रिटीहरूकै करियरमा ‘ब्याक फायर’ हुने देखिएको छ ।

एउटा उचाई हात परेपछि वा वाहवाही कमाएपछि, टन्न दाम र नामका साथ आलिशान जीवन बिताइरहेको अवस्थामा आफ्नो कर्मक्षेत्रको होइन, पारिवारिक कुरा खोतलेर यूटुबरहरूको क्यामेराअगाडि रोइदिँदा फाइदा कसलाई– तपाईं सेलिब्रेटीहरूलाई ? होइन, केवल ती युटुबरलाई मात्र हो । तपाईंको कुनै अर्थ नलाग्ने र कसैबाट सहानुभूति प्रकट नहुने खालका कुरा खोतलेर, पारिवारिक प्रसङ्गहरू झिकेर यूटुबरहरूको अगाडि रून थाल्नुहुन्छ अनि यूटुबरहरू भित्रभित्रै खुशीयाली मनाउँछन् ।

यूटुबरहरू तपाईं सेलिब्रिटीहरूले संघर्षपश्चात् हात पारेको सफलताको कुराको साटो किन तपाईंका पारिवारिक कुराहरू खोतल्न खोज्छन् ? यो मनन गर्न सक्नुपर्छ । तर तपाईंहरू उनीहरूकै उक्साहटमा लागेर आफ्नो श्रीमान् वा श्रीमतीसँगको आन्तरिक व्यवहारहरू छरप्रष्ट पार्न थाल्नुहुन्छ । श्वास नै नरोकीकन युटुबरहरूको अगाडि फटाफट निजी कुरा व्यक्त गरिदिँदा तपाईंहरू आ–आफ्नै धज्जी उडाइरहनुभएको हुन्छ । तपाईं यता रूँदै बोल्नुहुन्छ उता युटुबरहरू तपाईंको रूवाइमा मनमनै डलर सम्झँदै दङ्ग परिरहेका हुन्छन् । यो यथार्थलाई सेलिब्रेटीहरूले कहिले बुझ्ने ?

जसले तपाईं रोएको अन्तर्वार्तामा ‘फलानीले रूँदै पीडा पोखिन्, फलानोको रूँदै पीडा पोखे, पहिलो पतिलाई यसो भनिन्, पहिलो पत्नीलाई यसो भने, छोराछोरीको रूवाबासी’ आदित्याति उट्पट्याङपूर्ण प्रकारका हेडिङ राखेर सनसनी मच्चाउने यूटुबरहरूले कहिल्यै तपाईंहरूले कलाकारिता क्षेत्रमा पु¥याएको योगदान र निरन्तरताको बारेमा खिचेर देखाए ? लेखे या तपाईंको सफलताको बारेमा ब्याÞख्या गरे ? गरेनन्, किनकि तपाईंहरूको आँशु, पीडा र रोदन देखाएर यूटुब चलाउनु छ यिनीहरूलाई । अधिकांश यूटुबरहरू तपाईंको पीडामा मल्हम लगाउन होइन, बरु व्यक्तिगत आर्जनका लागि तपाईंको बनिबनाउ घर–परिवार भाँड्न, तपाईंको उचाइ घटाउन र समग्र जीवन क्षतविक्षत तुल्याउन पो लागिपरेका झैँ देखिन्छन् ।

केही यस्ता यूटुबर पनि छन् यहाँ जसलाई सकारात्मक सोच नै आउँदैन । उनीहरू हरसमय नकारात्मक प्रसङ्गहरूको खोजीमा मात्र हुन्छन् । अनि यी र यस्ताको यूटुब हेरेर धारणा बनाउने हामी दर्शकहरू पनि त्यो क्षेत्र र विधालाई नकारात्मक रूपमा नै हेर्न थाल्छौँ । अनि कसरी हुन्छ त सकारात्मक सोचको विकास ? सोच नै नकारात्मक भएका यूटुबरहरूलाई सेलिब्रेटीहरूबीच मेलजोल भएको मन पर्दैन । सेलिब्रेटीहरू जोडिएको र उनीहरूको परिवार एक भएको देख्नै सक्दैनन् । सेलिब्रेटीहरूको नकारात्मक खबर देखाएर आफूलाई महान् सम्झन्छन् र, लेख्छन्– ‘तुरून्तै हेरि हाल्नुस्, फलानीले फलानोलाई यसो भनी, फलानोको पति र पत्नीबीच डिभोर्स, यसकारण गरे डिभोर्स !’

यस्ता सोच भएकाहरू सेलिब्रेटीहरूको गीत, चलचित्र वा कुनै सिर्जना हिट भएको पनि मन पराउँदैनन् । यिनीहरू त बिना प्रसङ्ग वा कारण पारिवारिक कुरा खोतलेर तपाईंहरूलाई भाबुक बनाउँछन् अनि तपाईंहरू पनि त्यसमा बहकिएर रून थाल्नुहुन्छ । अब के चाहियो ? अनि आउँछ त्यस्ता बेतुकका हेडिङ ।

तपाईंहरू स्वेच्छाले समझदारीमा डिभोर्स गर्ने । दुवैको अलग–अलग परिवार स्थापित भैसकेको समयमा आफ्ना गुनासा, पीडा र ब्यथा यूटुबरलाई सुनाएर या यिनीहरूको अगाडि रोएर केही अर्थ छ त ? तपाईं सेलिब्रेटीहरूको सम्बन्धबिच्छेद भैसकेको कुराहरूलाई उठाएर र पूर्वपति–पत्नीबीच जुहारी खेलाएर यिनीहरूले देखाएको तमासाको किन ‘कारण’ बन्नुहुन्छ तपाईंहरू । तपाईंहरूको यस्तो अवस्था आउँदा तपाईंका सन्तानको मानसिकतामा पर्ने असरबारे सोच्नुभएको छ कहिल्यै ? यसरी युटूबरको अगाडि तमासा नदेखाउँदा नै राम्रो होला । दूरासय बोकेका यूटुबरको बहकाइमा परेर एकले अर्कोलाई हिलो छ्याप्दा साँच्चै त्यसको परिणाम सकारात्मक आउँदैन भन्दा फरक नपर्ला ।

सेलिब्रेटीहरूले पारिवारिक कुरा छरपस्ट पारेर तपाईंहरू आफै आफ्नो गरिमामा प्रहार गरिरहनुभएको छ । जुन क्षेत्रमा लाग्नुभयो, त्यसको पीडा, दुःख र संघर्षको कुरा गर्ने कि अलग भएको परिवारको कुरा गरेर तमासा देखाउने ? तपाईंहरूको आँशु, पीडा र रोदनमा युटूबरहरूको सहानुभूति होइन उनीहरूले यूटुबबाट आउने पैसा देखेका हुन्छन् । तपाईं जति रूनुहुन्छ उनीहरू त्यति हाँसिरहेका हुन्छन् । आफ्ना विगतका पारिवारिक झगडा र असन्तुष्टि किन यूटुबमा आएर ब्यक्त गर्नुहुन्छ ? त्यै असमझदारीकै कारण तपाईंहरू अलग हुनुभएको होइन र ? फेरि किन रोइलो ? त्यसैले आफ्नो आँशु यूटुबरको लागि कमाइको धन्धा बन्न नदिनोस्… ! प्रशंसकहरूले तपाईंलाई आदर्श मानिरहेका हुन्छन्, त्यो प्रतिष्ठा जोगाउनुस् है !!