कोरोना महामारी नियन्त्रणको संयुक्त प्रयासका लागि राष्ट्रपति सिको आग्रह

कोरोना महामारी नियन्त्रणको संयुक्त प्रयासका लागि राष्ट्रपति सिको आग्रह



चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको धारणा राखेका सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग उनले फोनवार्ता गरेका थिए ।

फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वय सहितको प्रयासका लागि आग्रह गरेका सिन्ह्वाले जनाएको छ । त्यस फोनवार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रुपमा सहयोग र समझ्दारी बढाउन चाहेको धारणा राखेको जनाइएको छ ।

वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरुसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।