सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको छ ।
नेकपाको दाहाल–नेपाल समूहले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आइतबार प्रेस नोट जारी गर्दै हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको जानकारी दिएका हुन् ।
यसअघि दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको बारे सूचना जारी गरिएको थियो । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको बताएका थिए ।
बताइएअनुसार बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बैठक बस्ने सो समूहको कार्यसूची छ । दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
यसै क्रममा नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो । धर्नामा समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
प्रतिक्रिया