- विकाश रौनियार, धादिङ
देशका ११ जिल्लाका १३० स्थानमा बर्ड फ्लू (एच-५ एन-१) संक्रमण पुष्टि भएसँगै संघीय राजधानी काठमाडौंको प्रमुख प्रवेशद्वार धादिङमा सतर्कता उच्च पारिएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक हजारौं सवारीसाधन तथा कुखुराजन्य वस्तु ओसारपसार हुने भएकाले जिल्लाका मुख्य नाकामा विशेष निगरानी सुरु गरिएको हो ।
जिल्ला स्तरीय बर्ड फ्लू प्राविधिक समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पशु सेवा कार्यालयको संयुक्त टोलीले कुखुरा, चल्ला, अण्डा तथा अन्य कुखुराजन्य वस्तुको नियमित अनुगमन गरिरहेको छ। विशेषगरी संक्रमण देखिएका जिल्लाबाट आउने ढुवानीमाथि कडाइ गरिएको छ।
पशु सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार जिल्लामा भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको स्वास्थ्य अवस्था, भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र (भेटेरिनरी सर्टिफिकेट) लगायतका आवश्यक कागजात अनिवार्य रूपमा परीक्षण भइरहेको छ।
उनका अनुसार आवश्यक परे बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार जोखिमयुक्त क्षेत्रबाट ल्याइने कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार रोक्ने तथा नष्ट गर्नेसम्मका कानुनी व्यवस्था लागू गरिनेछ।
“कुखुरा तथा कुखुराजन्य वस्तुको ढुवानी प्रायः रातिको समयमा हुने भएकाले रात्रीकालीन अनुगमनलाई पनि प्राथमिकता दिएका छौं,” डॉक्टर ठाकुरले भने, “संक्रमण देखिएपछि कतिपयले बिरामी कुखुरा हतारमा बिक्री गर्न खोज्न सक्छन्। त्यसैले रोग फैलिन नदिन नाकामा निगरानी अझ कडा बनाइएको हो।”
हालसम्म धादिङमा गरिएको अनुगमनका क्रममा बर्ड फ्लू संक्रमण पुष्टि हुने कुनै अवस्था नदेखिएको उनले जानकारी दिए। आवश्यक कागजातबिनाका कुखुरा तथा कुखुराजन्य वस्तुलाई भने जिल्लाभित्र प्रवेश गर्न नदिई सम्बन्धित पक्षलाई फर्काइने र सचेत गराइने गरिएको छ।
पशु सेवा कार्यालयले सञ्चार माध्यममार्फत बर्ड फ्लूबारे जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिरहेको छ। कुखुरा फार्म वा अन्य स्थानमा अस्वाभाविक रूपमा कुखुरा मरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन किसान तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।
जिल्ला स्तरीय बर्ड फ्लू प्राविधिक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार संघीय राजधानी काठमाडौंलाई देशका अधिकांश जिल्लासँग जोड्ने दुई प्रमुख राजमार्ग धादिङ भएर सञ्चालन हुने भएकाले जिल्लालाई उच्च जोखिम क्षेत्रका रूपमा राखी निगरानी थप प्रभावकारी बनाइएको हो।
संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्लाका १३ वटै स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरूसँग पनि विशेष छलफल गरिएको छ। शंकास्पद अवस्था देखिए तत्काल नमुना संकलन गर्ने, आवश्यक सूचना जारी गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको जनाइएको छ।
सरोकारवाला निकायहरूले बर्ड फ्लू संक्रमण रोकथामका लागि किसान, व्यवसायी र उपभोक्तालाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न तथा कुनै पनि शंकास्पद घटना लुकाएर नराख्न आग्रह गरेका छन्।
प्रतिक्रिया