फेरि विप्लवको शरणमा !

फेरि विप्लवको शरणमा !



प्रचण्डपक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले विद्रोही नेकपाका नेता नेत्रविक्रम चन्दसँग गुप्त भेटवार्ता गर्नुभएको जानकारी प्राप्त भएको छ । महराले नेपाली भूमिमै विप्लवसँग भेटेको दाबी आफ्ना निकटहरूसँग गर्नुभएको छ ।

गत वर्ष विवादमा परेयता महरा ‘लो प्रोफाइल’ राजनीति गर्दै हुनुहुन्छ । आफूलाई जेल जानबाट रोक्न नसकेको भन्दै उहाँ प्रचण्डप्रति पनि निकै रुष्ट हुनुभएको थियो । जेलबाट मूक्त भइसकेपछि महराले सबैजसो समय दाङ र रोल्पामा बिताउने गर्नुभएको थियो । आफ्नै पार्टीका नेताहरूप्रति क्षुब्ध महराले त्यतिबेलैदेखि विप्लवसँग सम्पर्क र सम्बन्ध बनाउनुभएको विश्वास गरिन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चरम द्वन्द्व बढेसँगै प्रचण्डले आफ्नो निकटस्थ नेताहरूलाई मोहन वैद्य, बाबुराम भट्टराई, उपेन्द्र यादव र विप्लवसँग सम्वाद गर्न अह्राउनुभएको थियो । भट्टराईसँग प्रचण्डले उपराष्ट्रपति नन्दकिशोर पुनलाई मध्यस्थ बनाएर वार्तालाप गरेको समाचार केहीअघि नै सार्वजनिक भइसकेको छ । उपेन्द्र यादवसँग पनि प्रचण्ड आफैंले कुराकानी गरिरहनुभएको बुझिन्छ । मोहन वैद्य र विप्लवसँग सम्वाद गर्न भने प्रचण्डले महरालाई जिम्मा दिनुभएको बताइन्छ । माओवादीलाई पुनः सङ्गठित र एकतावद्ध गर्ने निचोडमा प्रचण्ड पुग्नुभएको छ ।

नेकपाको विभाजनपश्चात पूर्वमाओवादीमध्येका अधिकांश लडाकु तथा युवाहरू विप्लव समूहतर्फ आकर्षित भएको बुझिएको छ । आफू ‘भेज आन्दोलन’मा सक्रिय भए पनि ‘ननभेज आन्दोलन’का हिमायती प्रचण्डले विप्लवलाई समेत उपयोग–प्रयोग गर्नका लागि महरालाई जिम्मेवारी दिनुभएको सम्वद्ध सूत्रहरूले जनाएका छन् ।